वडा प्रहरी परिसरमै कुटाकुट, ६ जना पक्राउ

वडा प्रहरी परिसरमै कुटाकुट, ६ जना पक्राउ

महेन्द्रनगर। महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आइतबार कुटाकुट गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडि दुई पक्षबीच पुनः वादविवाद भई झगडा भएपछि भीमदत्तनगरपालिका–५ का पाँच र भीमदत्त –१७ का एक गरी ६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त –५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशनलुहार, २७ वर्षीया निशा लुहार, २६ वर्षीय रोहित लुहार र भीमदत्तनगरपालिका–१७ का २५ वर्षीय विशाल कोली रहेका छन्।

वडा प्रहरी परिसरमै कुटाकुट भइरहेको भिडिओ सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ति जारी गरी उक्त विवादमा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।