मुगुमा जिप भीरबाट खस्दा तीन जनाको मृत्यु, दुई घाइते

मुगुमा जिप भीरबाट खस्दा तीन जनाको मृत्यु, दुई घाइते

मुगु । मुगुमा भएको जिप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

काठमाडौँबाट मुगुको रारातर्फ आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाका अनुसार जिपमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै वा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौँको कलङ्की निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन्।

उक्त दुर्घटनामा परी जिप चालक ललितपुर निवासी ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। घाइते दुवै जनाको हाल जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको डीएसपी थपलियाले जानकारी दिएका छन्।