तराई र उपत्यकामा बाक्लो हुस्सु-कुहिरो, कोशी र गण्डकीमा हल्का हिमपात हुन सक्ने

तराई र उपत्यकामा बाक्लो हुस्सु-कुहिरो, कोशी र गण्डकीमा हल्का हिमपात हुन सक्ने

काठमाडौं।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ भने तराई, उपत्यका तथा खोँचहरूका धेरैजसो स्थानमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ।

देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।