काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
रिसोर्टमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासो र गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो करिब ३ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा खटिएको ३० जनाको संयुक्त सुरक्षा टोलीले रिसोर्टमा छापा मारेको थियो। चेकजाँचका क्रममा ३१ पुरुष र ५ महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ।
ठूलो संख्यामा विद्युतीय उपकरण बरामद
प्रहरीले रिसोर्टमा खानतलासी गर्दा दुईवटा कोठाबाट ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत बरामद गरेको छ। उनीहरूले रिसोर्टका कोठाहरू नै भाडामा लिएर शंकास्पद ढंगले अनलाइन तथा डिजिटल प्रविधिको प्रयोग गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेकाहरूमाथि साइबर अपराध, अवैध अनलाइन गेम्बलिङ, बैंकिङ कसुर वा अन्य गैरकानुनी गतिविधिमा संलग्नता रहे/नरहेको विषयमा सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको भिसाको अवस्था र नेपाल बसाइको वैधानिकताका विषयमा पनि छानबिन सुरु गरिएको छ।