काठमाडौं । काठमाडौं विश्वका सबैभन्दा बढी वायु प्रदूषण भएका सहरको सूचीमा ११औँ स्थानमा परेको छ । वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५८ पुगेको हो ।
बुधबार बिहान ५ बजेदेखि ६ बजेसम्मको मापनअनुसार काठमाडौंको वायु गुणस्तर अस्वस्थकर तहमा रहेको छ । यसले राजधानीको वायु प्रदूषणको अवस्था चिन्ताजनक रहेको देखाएको छ ।
आईक्यूएयरको सूचीमा पाकिस्तानको लाहोर सबैभन्दा प्रदूषित सहर बनेको छ । लाहोरको एक्यूआई २७० मापन गरिएको छ । त्यस्तै, बंगलादेशको ढाका २१९ एक्यूआईसहित दोस्रो र भारतको कोलकाता १९८ सहित तेस्रो स्थानमा छन् ।
अफगानिस्तानको काबुल १८४ एक्यूआईसहित चौथो स्थानमा रहँदा भारतको दिल्ली पाँचौँ र इन्डोनेसियाको जकार्ता छैटौँ स्थानमा रहेका छन् । पाकिस्तानको कराँची पनि विश्वका प्रदूषित सहरको सूचीमा दसौँ स्थानमा परेको छ ।
आईक्यूएयरको तथ्यांकले काठमाडौंको वायु प्रदूषणको स्तर स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण अवस्थामा पुगेको संकेत गरेको छ ।
