नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्युपछि तनाव

नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्युपछि तनाव

जनकपुरधाम । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिनको नवजात शिशुको मृत्यु भएपछि प्रदर्शन भएको छ । उपचारको क्रममा मंगलबार दिउँसो बाराको कलैया उपमहानगरपालिका–२२ निवासी सन्दीप साहको १८ दिनको छोराको मृत्यु भएको थियो ।

मृत्युुपछि आफन्त र स्थानीयको प्रदर्शनले अस्पताल तनावग्रस्त बनेको हो । शिशुलाई जण्डिस भएपछि गत शनिबार अस्पताल भर्ना गरिएको थियो । परिवारले अस्पतालका चिकित्सकमाथि लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित भएपछि लफडा भएको हो ।

शिशुको मृत्युको वास्तविक कारणबारे जानकारी माग्दै परिवारले अस्पतालसँग सीसीटीभी फुटेज उपलब्ध गराउन माग गर्दै प्रदर्शन गर्दै आएका छन् । आज पनि प्रदर्शन जारी छ । मृतक शिशुको हजुरबुबा पर्ने नरेश साहले स्वास्थ्यमा सुधार भएर डिस्चार्ज गर्ने भनिरहेको बेला स्टाफ नर्सले सुइ लगाएपछि पाँच मिनेटमै बच्चाको मृत्यु भएको दाबी गरेका छन् ।

‘उपचारमा लापरबाहीकै कारण बच्चाको मृत्यु भएको छ । अस्पतालले सीसीटीभी फुटेज उपलब्ध गराओस् । घटनाको निष्पक्ष छानबिन होस्,’ उनले भने । शिशुकी आमा नमिता साह चिकित्सकको लापरबाहीका कारण आफूले सन्तान गुमाउनुपरेको आरोप लगाएकी छन् ।

चार वर्षसम्म सन्तानको प्रतीक्षा गरेर पहिलोपटक मातृत्वको खुसी पाएकी नमिताले अहिले आफ्नो काख रित्तिएको पीडा व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेकी छन् । घटना पश्चात् मृतक परिवारले अहिलेसम्म शिशुको शव बुझेका छैनन् ।