काठमाडाैं। काठमाडौं उपत्यकाभित्र सञ्चालित ९५ वटा शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाहरूमा प्रहरीले एकैसाथ छापा मारेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार उपत्यकाका विभिन्न स्थानमा रहेका कन्सल्टेन्सीहरूमा विशेष अनुगमन तथा छापा मार्ने कार्य सञ्चालन गरेको हो।
यस क्रममा प्रहरीले विभिन्न परामर्श केन्द्रहरूबाट ६९ जनालाई नियन्त्रणमा लिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि प्रारम्भिक स्क्रिनिङ (छानबिन) भइरहेको छ र सोपश्चात् थप कानुनी अनुसन्धान अघि बढाइनेछ।
शैक्षिक परामर्श दिने बहानामा विद्यार्थीहरूमाथि भइरहेको आर्थिक ठगी, अवैध रूपमा वित्तीय कारोबार तथा नक्कली कागजातसम्बन्धी अनियमितता भइरहेको विशेष आशंकामा प्रहरीले यो अप्रेशन चलाएको जनाएको छ। शैक्षिक क्षेत्रको आवरणमा हुने यस्ता अवैध गतिविधि रोक्न अनुसन्धान प्रक्रियालाई थप तीव्र बनाइएको प्रहरीले उल्लेख गरेको छ।