काठमाडाैं। सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाडेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा उनलाई हिरासतमुक्त गरी अनुसन्धान गर्न आदेश जारी गरेको हो।
अदालतले पाण्डेलाई प्रारम्भिक अनुसन्धानका लागि हिरासतमा राखिरहनु पर्ने ठोस आधार र अवस्था नदेखिएको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको छ। यद्यपि, अनुसन्धानको प्रक्रिया जारी रहने भएकाले मुलुक छाडेर विदेश जानुपर्ने परिस्थिति आएमा उनले अदालतको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गर्न आदेशमा भनिएको छ।
पाण्डेका पत्नी निरु दाहालले आफ्ना श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गर्ने प्रक्रियामा सरकारी स्वामित्वको बेइमानी गरी आपराधिक विश्वासघात र ठगी गरेको अभियोगमा पाण्डेलाई पक्राउ गरेको थियो। अदालतको यो आदेशसँगै अब उनी हिरासत बाहिरै रहेर कानुनी प्रक्रियाको सामना गर्न पाउने भएका छन्।