हेटौंडा: हेटौंडा–११ कि तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्न ५ आरोपी प्रहरीले सार्वजनिक गरेको छ । भुजेलको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । यही माघ ४ गते बिहान हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक सुशीलसिंह राठौरका अनुसार यौन सम्पर्कपश्चात् पैसाका विषयमा विवाद भएपछि भुजेलको हत्या गरिएको अनुसन्धानबाट खुल्नमा आएको हो । उनीहरुले ट्रकमा राखेर पालैपालो बलात्कार गरेका थिए ।
घटनामा संलग्न आरोपमा प्रहरीले हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा–११ थानार्भयाङमा ७ हजार रूपैयाँमा सम्झौता गरी यौन सम्पर्क गरेका थिए ।
तर सम्पर्कपछि पैसाबारे विवाद क्रममा उनको हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार उनको हत्या गरेर शव ट्रकमै हालेर क्याम्पाडाँडामा लगी फालेका थिए । अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । उनले मोबाइल आफ्नी पत्नी एलिसालाई दिएका थिए ।
सोही मोबाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।घटनामा संलग्न २ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखा, टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्त पक्राउ गरिएको मकवानपुरका एसपी राठौरले पत्रकार सम्मेलनमा बताए ।