'चन्द्रमामा फेला परेको गुफामा कुनै दिन मानिसहरू बस्न सक्छन्'

'चन्द्रमामा फेला परेको गुफामा कुनै दिन मानिसहरू बस्न सक्छन्'

काठमाडाैं। वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर गहिरो उक्त गुफा मानिसहरूका लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने देखिएको पनि उनीहरूले बताएका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार चन्द्रमाको "भूमिगत संसार" मा सयौँ अरू गुफा हुन सक्छन् र यो तीमध्येको एउटा हुन सक्छ। विभिन्न देशहरू अहिले चन्द्रमामा पुग्न र स्थायी रूपमा मानवजातिको उपस्थिति गराइराख्न प्रतिस्पर्धा गर्दै छन्। यद्यपि चन्द्रमामा विकिरण, चरम तापक्रम र अन्तरिक्षको प्रतिकूल मौसमबाट अन्तरिक्षयात्रीहरूलाई जोगाउनुपर्ने ठूलो चुनौती हुन्छ।

अहिले फेला परेको गुफा शिविर बनाउन उपयुक्त स्थल भए जस्तो देखिएको प्रथम ब्रिटिश अन्तरिक्षयात्री हेलन शर्मनले बीबीसी न्यूजलाई बताइन्। मानिसहरू चन्द्रमामा भएका त्यस्ता खाडलमुनि २०-३० वर्षसम्म बस्न सक्ने उनको भनाइ छ।

यद्यपि यो गुफा निकै गहिरो भएकाले अन्तरिक्षयात्रीहरूले तल ओर्लिन र बाहिर निस्किन "जेट प्याक" वा "लिफ्ट" प्रयोग गर्नुपर्ने हुनसक्छ।

इटलीस्थित यूनिभर्सिटी अफ ट्रेन्टोका लोरेन्जो ब्रुजोने र लिओनार्दो कारेरले चट्टान भएको 'मेअर ट्र्याङ्क्विलिटेटिस' भनिने क्षेत्रमा रेडार प्रयोग गरेर एउटा खाडलभित्र उक्त गुफा रहेको पत्ता लगाएका हुन्।

पहिला समुद्र रहेको ठानिएको उक्त क्षेत्र पृथ्वीबाट खाली आँखाले नै देखिन्छ। सो क्षेत्रमै सन् १९६९ मा अपोलो ११ यान अवतरण भएको थियो।

चन्द्रमाको सतहमा अवस्थित प्वालबाट उक्त गुफामा प्रकाश छिर्छ। गुफा ठाडो छ र गुफाको भुइँ निकै तलसम्म फैलिएको हुन सक्छ।

करोडौँ वा अर्बौँ वर्षअघि चन्द्रमामा लाभा बग्दा चट्टान भएको ठाउँमा सुरुङ बनेको र उक्त गुफाको निर्माण भएको ठानिएको छ।

स्पेनको लान्जारोतेमा ज्वालामुखीका कारण बनेका गुफाहरूसँग त्यसको तुलना गर्न सकिने प्राध्यापक कारेर बताउँछन्। चन्द्रमाको गुफाबारे अध्ययन गर्ने सिलसिलामा अनुसन्धानकर्ताहरू स्पेनस्थित ती गुफामा पनि पुगेको उनले बताए।

“यो निकै रोचक छ। यस्ता कुरा पत्ता लाग्दा र यी तस्बिरहरू हेर्दा आफू इतिहासमै पहिलो व्यक्ति भएको अनुभूति हुन्छ," प्राध्यापक कारेरले भने।

उक्त गुफा निकै ठूलो भएको भेउ पाइसकेपछि इटलीका ती दुई प्राध्यापकले उक्त स्थान चन्द्रमामा मानिसका लागि आधारशिविर बन्न उपयुक्त भएको ठानेका हुन्।

"पृथ्वीमा गुफामै जीवन चल्थ्यो। मानिसहरू चन्द्रमामा पनि गुफामा बस्न सक्छन्," प्राध्यापक कारेरले भने।

उक्त गुफाको पूरै अन्वेषण भइसकेको छैन।

तर अुनसन्धानकर्ताहरूले जमिन छेड्न सक्ने रेडार, क्यामरा रोबट प्रयोग गरेर उक्त गुफाको नक्साङ्कन गर्न सकिने ठानेका छन्।

झन्डै ५० वर्षअघि वैज्ञानिकहरूले चन्द्रमामा गुफा र सुरुङहरू रहेको अनुमान गरेका थिए। त्यसपछि सन् २०१० मा 'लूनर रिकोनिसन्स ओर्बिटर' अभियानका क्रममा एउटा क्यामराले ती खाडलका तस्बिर खिच्यो। ती खाडल गुफाका मुख भएको वैज्ञानिकहरूको बुझाइ थियो।

तर अनुसन्धानकर्ताहरूलाई ती गुफा कति गहिरा छन् वा ती भत्किन सक्छन् कि सक्दैनन् भन्ने थाहा थिएन।

प्रा ब्रुजोने र प्रा कारेरको अनुसन्धानले अहिले ती प्रश्नको उत्तर दिएको छ। यद्यपि उक्त गुफाबारे सबै कुरा थाहा पाउन धेरै अध्ययन हुन बाँकी छ।

"हामीसँग चन्द्रमाको सतहका निकै राम्रा तस्बिरहरू छन्, २५ सेन्टिमिटर रेजलूशनसम्मका - हामी अपोलो ११ अवतरणस्थल पनि देख्छ सक्छौँ। तर उक्त सतहमुनि के छ भन्ने हामीलाई केही पनि थाहा छैन। नयाँ कुरा पत्ता लाग्न सक्ने ठूलो अवसर छ," युरोपेली अन्तरिक्ष निकाय (ईएसए) सँग आबद्ध वैज्ञानिक फ्रान्सेस्को साउरोले भने।

यो अनुसन्धानले भविष्यमा मङ्गल ग्रहमा पनि गुफाको खोजी गर्न सघाउन सक्ने साउरोको धारणा छ। उनी ईएसएस्थित ग्रहहरूमा गुफाको अध्ययन गर्ने टोलीका संयोजक हुन्।

त्यसबाट मङ्गल ग्रहमा जीवको अस्तित्व भए त्यसको प्रमाण फेला पार्न पनि सहयोग पुग्न सक्ने ठानिएको छ। उक्त ग्रहको सतहमा भएका तत्त्वहरूबाट त्यस्ता प्रमाण जोगाउन गुफाहरूले सघाएको हुनुपर्ने वैज्ञानिकहरूको बुझाइ छ।

अहिले चन्द्रमामा फेला परेको गुफाबाट चन्द्रमाको इतिहास र उत्पत्ति तथा सौर्यमण्डलसम्बन्धी आधारभूत प्रश्नको उत्तर खोज्न पनि सहयोग पुग्न सक्छ।

अन्तरिक्षको प्रतिकूल मौसमको प्रभावबाट जोगिने भएकाले गुफाभित्र रहेका चट्टानमा क्षति पुगेको वा क्षय भएको हुँदैन। त्यसैले तिनले अर्बौँ वर्षअघिको भौगर्भिक सूचना दिन सक्छन्।

यसबारे 'नेचर अस्ट्रोनमी' नामक वैज्ञानिक जर्नलमा भर्खरै एउटा शोध प्रकाशित भएको छ।