रुपन्देही ट्रक दुर्घटनाको मृतक तीनै जनाको पहिचान खुल्यो

रुपन्देही ट्रक दुर्घटनाको मृतक तीनै जनाको पहिचान खुल्यो

बुटवल : रुपन्देहीमा तीन वटा ट्रक ठोक्किएर भएको दुर्घटनामा मृतक तीनै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी, ३५ वर्षीय मोबिकन कुर्मी र ना २ ख ८४८१ का चालक सुनसरी चतराका अन्दाजी ३५ वर्षीय पूर्णबहादुर भुजेल रहेका छन् ।

भैरहवा–भुमही सडकको रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेको युनिभर्सल मेडिकल कलेज रानी गाउँमा उपचार भइरहेको छ ।

भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक मंगलबार बिहान पौने ७ बजेतिर एकआपसमा ठोक्किएको थियो ।

तराईमा बाक्लो हुस्सु र कुहिरोले सडक दुर्घटना बढाएको हो । घाइते ९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहको छ ।दुर्घटनामा परी घाइते हुनेहरुमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका ४ का ४७ वर्षीय दुधई हरिजन र सिन्धुली रातामाटे बस्ने २७ वर्षीय मोहन राईको अवस्था भने अत्यन्त गम्भीर रहेको छ ।