ओखलढुङगामा जीप दुर्घटना हुदा एक विरामीको मृत्यू, ३ गम्भिर घाईते

ओखलढुङगा : ओखलढुङगाको चम्पादेवी गाउँपालिका ५ बाट बिरामी लिएर जिल्ला अस्पताल ओखलडुङगा जाँदै गरेको बोलेरो जीप दुर्घटना हुदा एक विरामी व्यक्तिको ज्यान गएको छ भने ३ जना गम्भिर घाईते भएका छन् ।

आज विहान साढे ६ बजेको समयमा गोपखोला नजिकैको सिद्धडाँडाको भिरबाट बा २१ च ७३६१ नम्बरको जीप करिब ५ सय मिटर तल खस्दा त्यसमा सवार बाँसबोटेका (बिरामी) अन्दाजी वर्ष ५६ का सन्तोष विकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

मृतककी छोरी कल्पना विक, चालक डिक बहादुर खत्री, अनिता बुढाथोकी गम्भिर घाईते भएका छन् । उनीहरुलाई नेपाली कांग्रेसका नेता रामहरि खतिवडाको पहलमा हेलीकप्टर मार्फत विहानै काठमाडौ लगिएको प्रहरी निरिक्षक श्रीप्रसाद राईले जानकारी दिए । घुम्तिमा गाडि फर्काउने क्रममा दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।