बुटवलमा प्रदेश स्तरीय मानव सेवा आश्रम निर्माणको लागी महायज्ञ गरिँदै

बुटवलमा प्रदेश स्तरीय मानव सेवा आश्रम निर्माणको लागी महायज्ञ गरिँदै

बुटवल : बुटवलमा मानव सेवा आश्रमको प्रदेश स्तरीय भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन आश्रमले महायज्ञ गर्ने भएको छ ।

आगामी माघ २० गतेदेखि २७ गतेसम्म सुख्खानगरको भाटभटेनी चोकमा महायज्ञ सञ्चालन गर्न लागेको आश्रमले जनाएको छ ।

आठ दिनसम्म चल्ने महायज्ञबाट सात करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ । भवन निर्माणका लागि बुटवल उपमहानगरपालिका ७ हिलपार्क परिसरमा चार कठ्ठा जग्गा व्यवस्थापन भइसकेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन् ।

दुई सय जना सहयोगापेक्षी बेसहारालाई सेवा दिन मिल्ने गरी कम्तीमा ५० कोठासहितको सुविधासम्पन्न चारतले भवन बनाउने तयारी आश्रमले गरेको छ ।

बुटवल उपमहानगरपालिका बेसहारा र सहयोगापेक्षी सडकमानवमुक्त घोषणा भइसकेको सन्दर्भमा सेवाको स्थायित्वका लागि भवन निर्माण र आश्रतिहरुको भरणपोषणका लागि अक्षयकोष पनि स्थापना गर्ने महायज्ञको उद्देश्य रहेको उनले बताए ।

लिफ्ट सुविधासहित बन्ने उक्त भवन अपांग र बालमैत्री हुने छ । प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा २५ लाख रुपैयाँ दिएको छ ।

भवन बनाउन ११ करोड रुपैयां लागत लाग्ने तर आर्थिक श्रोत नभएकाले रकम संकलन गर्न महायज्ञ आयोजना गरिएको महायज्ञका मूल संयोजक लोकनाथ भुसालले बताए । सो आश्रम ०६९ सालमा स्थापना भई हालसम्म देशभरका दुईहजार तीन सय बढी बेसहारा सडक मानवको उद्धार गरी मानवोचित व्यवस्थापन गराइसकेको छ । आश्रमले सातवटै प्रदेशमा गरी १४ जिल्लामा उन्नाइस वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।