काठमाडौं : काठमाडौं महानगरपालिका १५ भगवानपाउ बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ पर्ने अन्यमा नुवाकोट दुप्चेश्वर नगरपालिका ६ का नकुर तामाङ, रसुवा आमा छोदिङ्मो गाउँपालिकाका दावा छिरिङ तामाङ, रामेछाप मन्थलीका कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगयाका तेन्जिङबहादुर तामाङ र सञ्जित वाइवा रहेका छन् । पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
गत माघ ९ गते विहान १० बजे काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको शान्तिधाम जाने सडकमा गुरुङलाई भीमबहादुरले मेरो बाजेसँग बल्ने ढुंगा छ भनी ५० लाख रुपैयाँ मागेको र पछि खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेको महाशाखाका एसपी मुकेशकुमार सिंहले बताए ।
उनीहरुले डाँका गरेको रकम बाँडेर लिएको र मोटरसाइकल, सुनका गहना, मोवाइल लगायतका सामान किन्ने र घरायसी काममा खर्च गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट डाँका गरेको ५० लाखमध्ये १८ लाख ७५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।
डाँका गरेको ५० लाख रुपैयाँमध्ये बेदबहादुर भन्ने भीमबहादुरले ७ लाख, सञ्जित वाइवाले ५ लाख, कुमार बुढाथोकीले ४ लाख ५० हजार, दावा छिरिङले ५ लाख, नकुर तामाङले ५ लाख रुपैयाँ लिएका प्रहरीले जनाएको छ । उनीहरुले बल्ने ढुंगा, बनझाँक्रीको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर र पूरातात्विक चिज आफूसँग छ भनेर किन्नका लागि दबाब दिने र एकान्तमा बोलाई समूह मिली लुटपाट र डकैती गर्ने गरेको प्रहरीको भनाइ छ ।