एमसिए-नेपालद्वारा दोस्रो ४०० केभी सबस्टेशन निर्माण सम्झौतामा हस्ताक्षर

एमसिए-नेपालद्वारा दोस्रो ४०० केभी सबस्टेशन निर्माण सम्झौतामा हस्ताक्षर

काठमाडौ। एमसिए-नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका-७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ।

उक्त ४०० केभी ग्यास इन्सुलेटेड स्विचगियर (जीआईएस) सबस्टेसनको निर्माण ३९ महिनाभित्र निर्माण गरिनेछ। निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेशनहरूमध्ये एउटा हुनेछ।

५.१६ करोड अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौंडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणको लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्नेछ।

एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसीसी र एमसिए-नेपालका पदाधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेर आदानप्रदान गरे।

एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीनवटा सबस्टेसनमध्ये एमसिए-नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेशन निर्माण सम्झौता हो।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले एमसिए-नेपाललाई बधाई दिँदै भने, “नेपालको प्रसारण प्रणाली विकास योजना (टीएसडीपीएन) मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्वपूर्ण अंगका रूपमा परिकल्पना गरिएको ४०० केभी रातमाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्काे महत्वपूर्ण उपलब्धि हुनेछ ।”

निर्माण सम्झौतामा हस्ताक्षर सम्पन्न भएकोमा एमसिए-नेपाललाई बधाई दिँदै मिलेनियम च्यालेञ्ज कर्पोरेशनका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भने, “तीनवटा सबस्टेशनमध्ये दोस्रो रातमाटे सबस्टेसन निर्माण सम्झौतामा हस्ताक्षरबाट एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएकोले यसलाई एउटा कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा ठुलो फड्कोका रूपमा लिन सकिन्छ। आगामी केही वर्षमा एमसीसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने कुरामा हामी विश्वस्त छौँ।”

एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, “अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालित विद्युत् प्रसारण परियोजना अन्तर्गत एमसिए-नेपालले सबस्टेसन र प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण कामलाई तीव्रता दिइरहेको छ।

दमौलीमा निर्माण गरिने तेस्रो सबस्टेसनको निर्माण सम्झौता पनि चाँडै नै हुन लागेको छ भने १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि परेको बोलपत्रको मूल्याङ्कन भइरहेको छ । हामी प्रसारण लाइनको बाँकी अंश निर्माणका लागि पनि बोलपत्र आह्वान गर्न खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ।”

४०० केभीे रातमाटे सबस्टेसनमा जलविद्युत् आयोजना र सबस्टेसनहरूबाट प्राप्त हुने ३,२०० मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमता पनि हुनेछ। नेपालमा औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि ल्याउन यस सबस्टेसनमा विभिन्न भोल्टेज स्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरण गरिनेछ।

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल-भारत सीमासम्म ३१५ किमि प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ।

१८ किमि सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको को मूल्याङ्कन भइरहेको छ। एमसिए-नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ। त्यस्तै, बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ।