काठमाडौं। चार वामपन्थी पार्टीले तामझामसहित घोषणा गरेको समाजवादी मोर्चा एक वर्ष नपुग्दै संकटमा परेको छ। मोर्चामा सहभागी जनता समाजवादी पार्टी, नेपाल विभाजनसँगै मोर्चा संकटमा परेको हो ।
गत फागुनमा एमाले-माओवादीसहित नयाँ सत्ता समीकरण बनेपछि र मोर्चा भित्रकै दल जसपा नेपाल विभाजनपछि यसको औचित्य सकिएको नेताहरूले बताउन थालेका छन् ।
गत वैशाख २४ मा जसपा नेपाल विभाजन भएको थियो। जसपा विभाजनको आरोप मोर्चाकै शीर्ष नेतामाथि लागेपछि यसको भविष्य थप अन्योलमा परेको हो। जसपा नेपाल विभाजनमा मोर्चाकै प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भूमिका रहेको अध्यक्ष उपेन्द्र यादवको आरोप छ।
नेपाली कांग्रेससँग गठबन्धन हुँदा गत वर्षको असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो। काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताले मोर्चा घोषणा गरेका थिए।
नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने लक्ष्यसहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मिलेर मोर्चा घोषणा भएको थियो।
कांग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका ‘प्रचण्ड’ले एमालेसँग सहकार्य सुरु गरेपछि मोर्चा विघटनको डिलमा पुगेको हो। विघटनको औपचारिक घोषणा नभए पनि मोर्चाको गतिविधि शून्यप्रायः छ।
घोषणामै सीमित प्रतिबद्धता
समाजवादी मोर्चा घोषणा हुँदा सबैभन्दा खुसी प्रधानमन्त्री प्रचण्ड भएका थिए। मोर्चा घोषणा सभामा उनले उत्साहित भएर परिवर्तनहरू उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरूविरुद्ध एउटा युद्धकै घोषणा भएको बताएका थिए।
‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरूका लागि चुनौती हो । यो मोर्चाले तिनका विरुद्ध युद्धको घोषणा हो,’ उनको भनाइ थियो ।
तर, मोर्चा घोषणा भएको एक वर्ष नपुग्दै विघटनको डिलमा पुग्दा भने उनी मौन छन्। तत्कालीन गठबन्धनमा ‘कांग्रेसलाई साइजमा राख्न’ मोर्चा बनाइएको टिप्पणी भएको थियो । तर, सत्ता सहयोगी फेरिएसँगै मोर्चाबारे उनले मौनता साँधेका छन्।
समाजवादको लक्ष्य प्राप्तिका लागि भनेर बनेको मोर्चाले अहिलेसम्म औचित्य पुष्टि गर्न भने सकेको छैन। नेपाली विशेषताको समाजवादको स्थापना मोर्चाको प्रमुख उद्देश्य भनिएको थियो । मोर्चा र उद्देश्य दुवै औचित्यहीन र अस्पष्ट रहेको विश्लेषकहरू बताउँछन् ।
मोर्चा घोषणा गर्दै गर्दा दलहरूले ‘पार्टी एकतासम्म’को कुरा गरेका थिए । मोर्चाको ४ पृष्ठको प्रस्तावनामा पार्टी संरचनाकै मोडलमा सात बुँदे कार्यक्रम घोषणा गरिएको थियो । जसमा मोर्चाको संगठनात्मक संरचनादेखि नीति तथा कार्यक्रम निर्माणसम्मको कुरा छ । जसमा पार्टीकै मोडलमा नेतृत्व, सचिवालय, प्रदेश र जिल्ला समन्वय समितिको व्यवस्था गरिएको छ।
कार्यविधिमा भएको व्यवस्थालाई पालना गर्दै मोर्चाको नेतृत्वमा आलोपालोको नियम पनि चल्यो । अहिले सोही नियमअनुसार नेकपाका महासचिव विप्लव मोर्चाको संयोजकको भूमिका हुनुहुन्छ । तर, विप्लव नेतृत्वमा आएसँगै दुई पटकभन्दा मोर्चाको बैठक बसेको छैन। पछिल्लो बैठक फागुन ६ गते बसेको थियो।
बचाउन विप्लवको दौडधुप
सत्ता समीकरणमा आएको फेरबदल र जसपा विभाजनपछि विघटनको डिलमा पुगेको समाजवादी मोर्चालाई बचाइराख्न विप्लवले भने दौडधुप गरिरेका छन्। हाल मोर्चाको नेतृत्व सम्हालेका नेकपा महासचिव विप्लवले यसलाई पुनर्जीवित तुल्याउन दौडधुप बढाएका हुन्। यसका लागि उनले मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूलाई भेटिरहेका छन्।
विप्लवले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भेटेरै कुराकानी गरेका छन्। तर, परिणाम भने सकारात्मक नआएको नेकपा नेताहरू बताउँछन् ।
अब मोर्चाको औचित्य सकिएको यादवले जवाफ दिएका थिए। आफ्नै दलको आन्तरिक एकता बिथोलिएपछि अन्य दलसँग कार्यगत एकताका लागि मोर्चामा सहभागी हुनुको कुनै अर्थ नरहेको उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डकै कारण मोर्चाको औचित्य सकिएको उनले आरोप लगाए। ‘समाजवादी मोर्चा प्रधानमन्त्रीले नै पोलेर खाएको’ अध्यक्ष यादवको टिप्पणी छ।
मोर्चा गठन भएयता दुई कार्यकाल निरन्तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेतृत्व गरेका थिए। नेपालको कार्यकालमा मोर्चाले सातवटै प्रदेशमा सन्देश सभा गरेको थियो । गत ५ फागुनबाट नेकपा महासचिव विप्लवले मोर्चाको नेतृत्व सम्हालेका छन्। आउने असारमा विप्लवको चार महिने नेतृत्व गर्ने अवधि सकिँदै छ । तर, विप्लवको अवधि सकिनुअगावै मोर्चा भने निष्क्रियजस्तै बन्न पुगेको छ।