काठमाडौं। जेन–जी आन्दोलनको कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिवेला भक्तपुरमा डेराको घरमा बसेका छन् । झण्डै एक साता नेपाली सेनाको उच्च सुरक्षा घेराभित्र बसेर बाहिरिएका ओली पार्टीको काममा सक्रिय भएका छन् । यद्धपी उनी सार्वजनिक कार्यक्रममा भने सरिक भएका छैनन् ।
एमालेले यही असोज ३ गते संविधान दिवसको अवसरमा आयोजना गरेको च्यासलको कार्यक्रममा पनि उनी सहभागी भएनन्। एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले दश हजार मानिसको उपस्थितिमा अध्यक्ष ओली सार्वजनिक हुने घोषणा गरेका थिए । तर, दोस्रो तहका नेताहरुले अहिले सार्वजनिक नहुन भनेपछि ओली रोकिएको बुझिएको छ ।
यद्धपी अहिले ओली डेरामा बसेको घरमा राजनीतिक रुपमा सक्रिय छन् । उनले आफूले राष्ट्रियताको पक्षमा अडान लिएकै कारण घेराबन्दी भएको दाबी गर्ने गरेका छन् । भक्तपुरमा ओलीसँग यतिवेला युवाहरु बढि भेटवार्तामा सक्रिय छन् । पदाधिकारी व अन्य शीर्ष नेताहरुसँग भन्दापनि ओली युवाहरुसँग नै बढि भेटवार्तामा सक्रिय छन् ।
अध्यक्ष ओलीमाथि तत्काल पार्टी कमिटीका बैठकहरु बोलाउन दबाब छ । त्यसको लागि पनि उनले गृहकार्य गरिरहेका छन् । कतिपयले तत्काल नेतृत्व हस्तान्तरणको बहस छेडेका छन् । ओलीको नेतृत्वमा चुनावमा जान नसकिने कतिपयको मत छ । तर, युवा पँक्तिले भने अध्यक्षमा ओलीको विकल्प खोज्न नहुने र नेतृत्वमाथि भएको षड्यन्त्रको भण्डाफोर गर्नुपर्ने मत राखेका छन् ।
हिजो वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पनि अध्यक्ष ओलीसँग भेट गरेको बताईन्छ । सो भेटमा पोखरेलले तत्काल पार्टी कमिटीका बैठक राखेर गम्भीर समिक्षा गर्न प्रस्ताव राखेका छन् । दशैंअघि नै ओलीले पार्टीका महत्वपूर्ण फोरममा सम्बोधन गर्ने र कमिटी बैठकहरु बोलाउने योजना बनाएका छन् ।