काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले माध्यामिक तहसम्म पढाइ हुने सबै सामुदायिक विद्यालयका कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रुपमा थप गर्न निर्देशन दिएका छन् ।
मन्त्री पुनले आज तुरुन्त अगाडि बढाउनुपर्ने तीन वटा निर्देशन दिएको बताएका हुन् । उनले माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले यस्तो निर्देशन दिइएको पनि बताएका छन् ।
े‘नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहुन भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने,’– निर्देशनमा भनिएको छ ।
त्यस्तै, केही बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्षसम्म लगाउँदा विद्यार्थीहरुको लागि अपुरणीय क्षति भएको भन्दै उनले बढीमा ३ महिनाभित्र परीक्षाफल निकाल्न निर्देशन दिएका छन् । समयमामै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिने पनि उनको चेतावनी रहेको छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुखहरु नकाट्ने) सफा गरी सुन्दर बँगैचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन पनि उनले निर्देशन दिएका छन् ।