काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई देशभक्त बनाउनुपर्ने बताएका छन् । जेन–जी आन्दोलनका कारण सत्ता छोड्न बाध्य भएका ओली यतिवेला भक्तपुरको गुण्डुमा भाडाको घरमा बसेका छन् । आफू बसेको घरमा युवा पँक्तिलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘युवाहरुलाई देशभक्त युवा बनाउनुपर्छ । देशलाई माया गर्ने र जनतालाई माया गर्ने त्यस्ता युवाहरुको पँक्तिको तयार गर्नुपर्छ । नयाँ जेनेरशन देश र समाजप्रति अत्यन्तै जिम्मेवार, त्यस्तो हुनुपर्छ । हामी आफू अत्यन्तै जिम्मेवार नागरिकको रुपमा र देश बनाउने कर्मठको रुपमा जानुपर्छ । हाम्रो बोलीचाली, आनीबानी अत्यन्तै मिठो हुनुपर्छ ।’
असभ्य र गैरजिम्मेवार हुनु युवापन नभएको उनको भनाई छ । जिम्मेवार हुनु चाहीँ युवापन भएको उनको तर्क छ । ओलीले युवालाई हावामा नकुद्न भनेका छन् र देशप्रतिको कर्तव्य बुझ्न आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालको सही उपयोग भएको छ कि छैन भन्ने विषयको पनि युवाहरुलाई मूल्यांकन गर्न भनेका छन् । नेपाललाई अहिले बदनाम अवस्थामा पुर्याईएको र भिसा पनि नदिईएको ओलीको भनाई छ ।
उनले भने,‘नेपाल इमानदार र कर्मठ मानिसहरुको देश हो । अत्यन्तै जिम्मेवार र सभ्य मानिसहरुको देश हो । एउटा सभ्यताको लामो इतिहास भएको देश हो ।’ उनले जेन–जी आन्दोलनपछि देशमा ठूलो क्षति भएको र यसबाट देशलाई उठाउनुपर्ने पनि बताए । उनले देश बनाउने कुरामा हरेस नखान भनेक छन् ।
उनले देश र इतिहासलाई माया गर्ने मान्छेहरुले सिंहदरबार जलाउन नसक्ने भन्दै प्रश्न गरे । उनले भने,‘सिंहदरबार कसले जलायो ? देश र इतिहासलाई माया गर्ने मान्छेहरुले सिंहदरबार जलायो होला र ? पक्कै जलाएन । अरु नै कुनै घुसपैठिया तत्वहरु, जो पहिल्यै नै भन्दै थिए त सिंहदरबार जलाउँछु भनेर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर हमला गरेको धेरैपल्ट हो, यो एउटा योजनाबद्ध काम हो । यस्तो कुरामा हामीले बुझ्नुपर्छ । बादल लाग्यो भन्दैमा बादल हट्दैन भन्ने हुँदैन, साँझ पर्यो भने भोलि विहान उज्यालो हुन्छ भन्ने कुरा विश्वास गर्नुपर्छ । उज्यालो हुन्छ ।’