पार्टी पुनर्गठन गर्ने महामन्त्री थापाको अभियानमा ब्रेक

पार्टी पुनर्गठन गर्ने महामन्त्री थापाको अभियानमा ब्रेक

काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनपछि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टी रूपान्तरण र पुनर्गठन गर्ने भन्दै अभियानमा लागेका छन्।

महामन्त्री थापाका पछिल्ला अभिव्यक्ति हेर्दा तत्कालै नेतृत्व परिवर्तन गरी पार्टीलाई पुनगर्ठन गर्नुपर्ने पक्षमा देखिएका छन्। तर, महामन्त्री थापाको यो चाहना र प्रयासलाई पार्टीबाटै निर्णय गरेरै ब्रेक लगाइएको छ। ‘जेन-जी’ आन्दोलनको क्रममा ध्वस्त पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तत्काल कसैलाई कार्यवाहक नदिने निर्णय गरेको छ । उक्त बैठकमा महामन्त्री थापा पनि सहभागी थिए।

कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला अस्पतालमा उपचाररत रहेका छन्। भदौ २४ गते ‘जेन-जी’को आक्रमणबाट घर जल्दै गर्दा देउवा दम्पतीमाथि पनि निर्घात कुटपिट भएको थियो। त्यसयता नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस चर्किएको छ ।

महामन्त्री थापाले दिएको विकल्पअनुसार अहिले नै नेतृत्व फेर्न सभापतिनिकट समूहका नेताहरू तयार देखिएका छैनन् । सोहीअनुसार कार्यसम्पादन समितिले अहिले कार्यवाहक कसैलाई नतोक्ने, विशेष महाधिवेशन नगर्ने र यसबारे छलफल सभापति स्वास्थ्यलाभ गरेर फर्किएपछि गर्ने निर्णय गरेको छ ।

असोज ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले आफ्नो निष्कर्ष भन्दै दुई विकल्प सुनाएका थिए। एक, नियमित महाधिवेशन र अर्को विशेष महाधिवेशन । उनले नेता र पार्टीले अहिले गर्नुपर्ने पाँचवटा दायित्वको सूची पनि सार्वजनिक गरेका छन्। तर, महामन्त्री थापाको प्रस्ताव तत्काल अघि नबढ्ने निश्चित प्रायः देखिएको छ ।

कांग्रेसका पाँचजना पूर्व–पदाधिकारीले विशेष महाधिवेशन गर्दा पार्टीमा कलह उत्पन्न हुने भन्दै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्नुपर्ने भए पनि महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले समयमै काम नगर्दा समस्या देखिएको उनीहरूको निष्कर्ष छ ।

आइतबार पूर्वमहामन्त्री प्रकाशमान सिंहनिवास चाक्सीबारीमा पूर्व-महामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला तथा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्व-सहमहामन्त्री डा.प्रकाशशरण महतले छलफल गरेका छन्।

उनीहरूले शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय थापा र शर्माले वर्तमान परिस्थितिमा पार्टीलाई अगाडि बढाउन विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न गरेको प्रस्तावले पार्टीमा कलह निम्त्याउने निष्कर्ष निकालेको छन्।

दुई घण्टा बैठक बसेका पूर्व-पदाधिकारीहरूको छलफलको एजेण्डा वर्तमान राजनीतिक परिस्थिति, महामन्त्रीद्वय थापा र शर्माले कार्यसम्पादन समितिमा गरेको प्रस्ताव, आगामी केन्द्रीय समिति बैठकलगायत थियो ।

बैठकपछि पूर्वमहामन्त्री सिटौलाले पार्टीभित्र आन्तरिक कलह ल्याउने विशेष महाधिवेशनको पक्षमा पार्टीलाई लैजान नहुने, सभापति शेरबहादुर देउवा स्वस्थ भएपछि केन्द्रीय समिति बैठकबाट निर्णय गरी नियमित महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै भने, ‘मुलुकमा अहिले विषम परिस्थिति छ । यस्तो अवस्थामा पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्छ । त्यो भनेको नियमित महाधिवेशन हो । अहिले सभापतिज्यू अस्वस्थ हुनुहुन्छ । सभापति स्वस्थ भएपछि केन्द्रीय समिति बैठक बोलाएर नियमित महाधिवेशन गर्नुपर्छ भन्ने निष्कर्ष बैठकमार्फत हामीले निकालेका छौँ ।’

पार्टीको सचिवालय चलाउने महामन्त्रीले भए पनि समय सापेक्ष काम गर्न महामन्त्रीहरू चुकेको पूर्व-पदाधिकारीहरूको बैठकको निष्कर्ष छ । बैठकमा सहभागी पूर्व-उपसभापति विमलेन्द्र निधिले हिजोभन्दा आगामी दिन धेरै चुनौती रहेकाले पार्टीमा बृहत्तर एकता चाहिएको उल्लेख गर्दै भने, ‘पार्टीमा अहिले हिजोभन्दा धेरै आन्तरिक एकता चाहिएको छ । देशभरका साथीहरू अब के हुन्छ ? भन्दै हुनुहुन्छ, हिजोका दिनभन्दा आज चुनौती छन् । त्यो सम्बोधन गर्नुपर्ने हुन्छ, पार्टी कार्यकर्ताहरूलाई पनि विचलित हुन दिनुहुँदैन ।’

पूर्व-पदाधिकारीहरूले संकटको बेलामा नेतापिच्छे फरक-फरक अभिव्यक्ति दिनुभन्दा पनि समान धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

जस्तोसुकै मूल्य चुकाउन तयार छु : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सुधार र देश निर्माणमा आफू दृढ रहेको स्पष्ट पारेका छन्। पार्टीको रूपान्तरण र पुनर्गठनको लागि जुनसुकै मूल्य चुकाउन पनि आफू तयार रहेको स्पष्ट पार्दै महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टीको रूपान्तरण नगरी आन्दोलनको भावनालाई बोकेर हिँड्न सकिँदैन । अधिवेशन वा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व, नीति र सुधार कार्यान्वयन गर्नुपर्छ । पार्टी रूपान्तरण र पुनर्गठनको यो अभियानमा लाग्दा जस्तोसुकै मूल्य चुकाउन म तयार छु । पार्टीको साधारण सदस्य भएर भुइँमा बस्न पनि म तयार छु । पार्टीभन्दा माथि देश छ, देशको हितका लागि काम गर्नुपर्छ ।’

प्रवक्ता डा.महतको आक्रोश : ‘उपचारसम्म पनि पर्खिन नसक्ने ?’

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी पुनर्गठनको मुद्दा उठाइरहेका महामन्त्री गगन थापाप्रति तीव्र आक्रोश प्रकट गरेका छन्। आफ्नो अभिभावकमाथि आक्रमण हुँदा र अस्पतालमा उपचार भइरहेका बेला पार्टीभित्र सुरु गरिएको बहस जायज नभएको तर्क गर्दै महतले भने, ‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा हुन पर्खन पनि सक्दैनौँ ? आकाश झरिहाल्छ ? अवश्य पनि पार्टीका संरचनामा छलफल गर्छौं । घटनाको मूल्यांकन पनि गर्छौं र सुधार पनि गर्छौं । त्यसका लागि पनि नपर्खने ?’

हिमालय टाइम्स दैनिकबाट