जेन-जी आन्दोलन हाइज्याक भएको दुर्गा प्रसाईँको आरोप

जेन-जी आन्दोलन हाइज्याक भएको दुर्गा प्रसाईँको आरोप

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेन-जी आन्दोलनलाई बारबरा र समता फाउन्डेसनका सुकिला-मुकिलाहरुले हाइज्याक गरेको बताएका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईँले अहिले बनेको सरकार जेन-जीको सरकार नरहेको बताए। ‘जेन-जीलाई हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन्,’ उनले भने ।

उनले जेन–जी आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको पनि बताए। जेन–जी आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको पनि उनको दाबी छ । उनले वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीदेखि गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलगायतमाथि पनि जेन–जी आन्दोलनको प्रसँगमा प्रश्न उठाए । उनले प्रधानमन्त्री कार्कीलाई मेडिकल कलेज खोल्न हुँदैन भनेर विरोध गर्ने गोविन्द केसीको पछि लागेको आरोप लगाए । उनले देशलाई यो ठाउँमा पुर्याउन हात कनकमणि दीक्षित, कल्याण श्रेष्ठ, सुशीला कार्कीको हात रहेको बताए ।

‘गोविन्द केसीलाई लास्ट टाइम इलाममा लिन को गएको थियो भन्दा सुशीला कार्की र केदारभक्त माथेमा गएका होइनन् ? अहिलेका प्रधानमन्त्री सुशीला कार्कीलाई म के भन्छु भने–तपाईले पार पाउन हुँदैन । तपाईँ त यो देशमा मेडिकल कजेल, नर्सिङ कलेज हुन हुँदैन भन्ने मान्छे हो । गोविन्द केसी बोक्ने मान्छे तपाईँ हो,’– उनले भने ।

साथै, ऊर्जामन्त्री घिसिङ एमसीसी परियोजना छनोट गर्ने टिममा संलग्न र एमसीए प्रस्ताव गर्ने मुख्य पात्र रहेको उनको आरोप छ । त्यस्तै, गृहमन्त्री अर्यालमाथि उनले डा.गोविन्द केसीको वकिलदेखि बालेन्द्र शाहको कानूनी सल्लाहकारसमेत रहेको काम गरेको आरोप लगाए ।

दसैं, तिहार र छठपछि नेपालमा वैद्धिक सनातन हिन्दु राष्ट्र कायम नगरी अबको आन्दोलन नरोकिने उनको चेतावनी छ । त्यो आन्दोलनको नेतृत्व आफूले गर्ने पनि उनले उद्घोष गरे ।