राजनीतिमा पुनः सक्रियता बढाउँदै ओली

राजनीतिमा पुनः सक्रियता बढाउँदै ओली

काठमाडौं। ‘जेन-जी’ आन्दोलन उग्र बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजनीतिक उथलपुथलपछि बालुवाटारबाट नेपाली सेनाको हेलिकप्टर चढेर शिवपुरीतिर सेनाको ब्यारेकमा पुगेका अध्यक्ष ओली १० दिनपछि असोज २ गते सार्वजनिक भए। १० दिन लामो सैनिक ब्यारेक बसाइपछि भक्तपुरको गुण्डुस्थित एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत छिमेकी टोलमा झर्नुभएका अध्यक्ष ओलीले पुनः राजनीतिक सक्रियता बढाएका छन्।

अध्यक्ष ओली अहिले भक्तपुरको गुण्डुबाटै राजनीतिक गतिविधि गरिरहेका छन्। असोज ३ गतेको संविधान दिवसमा सहभागी हुन ‘जेन-जी’को आन्दोलनको क्रममा जलाइएको च्यासलस्थित केन्द्रीय कार्यालयमा ओली आउने अपेक्षा थियो । तर, उनलाई सुरक्षा चुनौती भन्दै सुरक्षा निकायले गुण्डु छाड्न दिएन । पुख्र्यौली थलो तेह्रथुम, झापाको दमक र भक्तपुरको बालकोटसहित तीनै स्थानका घर जलाइएपछि ओली अहिले डेरामा बस्दै आएका छन्।

‘जेन-जी’को आन्दोलनपछि परम्परागत प्रमुख राजनीतिक दलहरूमा नेतृत्व परिर्वतन र पुस्तान्तरणको चर्को बहस भइरहेको छ । परम्परागत दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र जस्तै नेकपा एमालेभित्र पनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरण बहस भइरहेको छ । नेकपा एमालेका नेताहरू पार्टीको नेतृत्वको फेर्नुपर्ने बहस गरिरहेका छन् । तर, अध्यक्ष ओली भने पार्टी नेतृत्व छोड्ने मनसायमा देखिएका छैनन्। पार्टीभित्रैबाट आफूविरुद्ध बहस चलिरहेको बेला ओली भने सचिवालयका एक-एकजना सदस्यहरूलाई अस्थायी मुकाम गुण्डुमै बोलाएर पार्टीमा पकड कायमै राख्ने प्रयास गरिरेका छन्। पार्टीमा पकड कायमै राख्ने योजनाअनुसार पहिले पार्टी सचिवालयमा बहु्मत कायम गरेर मात्रै बैठक बोलाउने रणनीतिका साथ अध्यक्ष ओलीले संवाद तिव्र बनाएका छन्। सचिवालयमा रहेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल ओलीको साथमै रहेका छन्। तर, हाल कायम १८ सदस्यीय सचिवालयमा आधाभन्दा धेरै सदस्य ओलीको विपक्षमा रहेका छन् । १९ सदस्यीय सचिवालयमा सचिव टोपबहादुर रायमाझी निलम्बित रहेको अवस्थामा हाल १८ जना छन्।

ओलीले शनिबार उपाध्यक्ष विष्णु पौडेललाई बोलाएर लामो छलफल गरेका थिए। त्यसपछि आइतबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङसंग सम्वाद गरेका थिए। सम्वादको क्रममा आफुले थप संकटबाट जोगिन तत्काल पार्टी बैठक बोलाउन सुझाव दिएको जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘परिस्थिति राम्रो छैन भनेर तलका साथीहरूले भनिरहेका छन् । सबैसँग कुराकानी गर्नुस्, बैठक राखेर एउटा निर्णयमा पुगौं।’

अध्यक्ष ओलीले नेताहरूसँगको सम्वादको क्रमलाई जारी राखेका छन्। योक्रम जारी रहेको ओली निकट स्रोतको भनाइ छ। अहिले ओलीको पक्षमा माहोल बनाउन महासचिव पोखरेल, उपमहासचिव ज्ञवाली र रिमाल समेत खटिनुभएको छ । ओलीले सुरु गरेको पछिल्लो सक्रियताले तत्कालै एमालेको नेतृत्व नछाड्ने रणनीति रहेको एमालेका नेताहरूको तर्क छ। सचिवालयकै सदस्यहरू योगेशकुमार भट्टराई र गोकर्ण विष्टसहितले पार्टी पुनर्निर्माणका लागि अहिलेको नेतृत्वको विकल्प पनि खोज्नुपर्ने बताइसकेका छन् । ‘जेन-जी’को आन्दोलन अघि नै वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले आफूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलाइसकेका छन्। ओलीको विपक्षमा खडा भएका भनिएका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य र गुरु बराल भने अझै मौन देखिएका छन्।

अष्टलक्ष्मीलाई ‘जेन-जी’ आन्दोलनपछि नयाँ नेतृत्वका रूपमा अघि सार्नुपर्ने बहस पनि एमालेको एउटा पंक्तिले चलाइरहेको छ । शाक्यले एमालेबाट कार्यकारी पदमा दुई कार्यकाल हटाउने र ७० वर्षे उमेरहद पनि नराख्ने प्रस्तावमा असहमति जनाएकी थिइन्। पार्टी सचिवहरू लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल मौन देखिएका छन्। स्रोतका अनुसार सचिवहरू रघुवीर महासेठ र छविलाल विश्वकर्मा पनि ‘जेन–जी’ विद्रोहपछि आफ्नै विगतको निर्णय बदल्ने मुडमा हुनुहुन्छ । यस्तो बेला उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङले निर्णय बदले सचिवालयमै ओली अल्पमतमा पर्ने सम्भावना छ ।

ओलीले सचिवालयमा बहुमत जुटाउन थालेको संवादसँगै गुण्डुमै बसेर सामूहिक भेटघाट र छलफलसमेत चलाइरेका छन्। जिल्ला कमिटी, प्रदेश कमिटी र विभिन्न जनसंगठका नेता–कार्कयर्तासँग पनि बाक्लो भेट गरिरहेका छन्। गुण्डु पुगेर ओलीलाई भेटेका नेताहरूले अहिले नै पार्टी नेतृत्व छाड्न मनस्थितिमा नरहेको र कुनै निराशा र पश्चात्तापको भाव नदेखाएको बताएका छन्। विदेशीले खेलेर अहिलेको अवस्था आएकाले आफूले नेपाली राजनीतिमा चाँडै ‘कमब्याक’ गर्ने ओलीले भेटघाटमा आउने नेताहरूलाई सुनाउने गर्नुभएको नेताहरूको भनाइ छ।

ओलीलाई भेटेपछि नाम नबताउने सर्तमा एक नेताले भने, ‘जेन-जी आन्दोलनलाई सम्हाल्न नसकेको, सडक विद्रोहबाट सत्ता गुमेको, पार्टीलाई ठूलो धक्का लागेको प्रति कुनै नैतिक जिम्मेवारी देखिँदैन । विदेशी चलखेल भनेर जोगिने उपाय बनाएको देखिएको छ । जुन, ठूलो दुर्भाग्य हुनेछ ।’ उपमहासचिव प्रदीप ज्ञवालीले केहीदिन अघि एक सार्वजनिक कार्यक्रममा संकटको बेलामा नेतृत्वलाई समस्यामा पार्नेभन्दा बलियोसँग साथ दिएर जानुपर्ने बताउनुभएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले तत्काल पार्टी नेतृत्व परिवर्तन आवश्यक नभएको दाबी गर्दै भन्नुभयो, ‘पार्टी रूपान्तरण हुनुपर्छ । रूपान्तरणको आवश्यकता छ । तर, तत्काल केपी ओलीको विकल्प छैन ।’