दलीय भागबन्डामा सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी चयन, को को परे सिफारिसमा ?

दलीय भागबन्डामा सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी चयन, को को परे सिफारिसमा ?

काठमाडौँः दलीय भागबन्डामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस भएका छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजक रहेको सिफारिस समितिले शनिबार कानुनमन्त्री समक्ष नाम सिफारिस गरेको हो । सिफारिस अनुसार भागबन्डामा बेपत्ता आयोगको अध्यक्ष सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सत्य निरुपणको अध्यक्ष कांग्रेसको कोटामा चयन भएका छन् ।

बेपत्ताको अध्यक्षमा युवराज सुवेदी र सत्य निरुपणमा डा. गणेशदत्त भट्ट सिफारिसमा परेका छन् । सुवेदी नेकपा र भट्ट कांग्रेसको कोटामा सिफारिसमा परेका हुन् ।

यसअघिका आयोगका कुनै पनि पदाधिकारी दोहोरिएका छैनन् । द्वन्द्वसँग सरोकार राख्ने विभिन्न संघ संस्थाको माग अनुसार सबै पदाधिकारी नयाँ चयन गरिएको हो ।

सिफारिस अनुसार बेपत्ता आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश युवराज सुवेदी सिफारिसमा परेका छन् । सुवेदी पूर्व नायब महान्यायाधिवक्ता समेत हुन् । नेकपाको कोटामा सुवेदी अध्यक्षमा सिफारिस भएका हुन् ।

यस्तै, सदस्यहरुमा विश्वप्रकाश भण्डारी, सुनीलरञ्जन सिंह, सरिता थापा र डा। गंगाधर अधिकारी रहेका छन्।

यस्तै सत्य निरुपणको आयोगमा सिफारिस भट्ट त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक हुन् । संवैधानिक कानुनका जानकार भट्ट नेपाल ल क्याम्पसमा प्राध्यापनरत छन् । सदस्यहरुमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, विष्णु पोखरेल र मन दाहाल रहेका छन्।

दश महिनापछि समितिले नाम सिफारिस गरेको हो ।