विद्युत् प्राधिकरणले काट्यो थप ३ उद्योगको लाइन

विद्युत् प्राधिकरणले काट्यो थप ३ उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ४ दिनमा ९ वटा उद्योगको लाइन काटिएको छ । ५२ वटा उद्योगको लाइन क्रमशः काट्ने तयारीमा नेपाल विद्युत प्राधिकरण रहेको छ । ट्रंक र डेडिकेटेड लाइन प्रयोग बक्यौता ६१ वटा उद्योगले तिर्न बाँकी रहेको प्राधिकरणले बताएको छ ।

गत शुक्रबार नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ४ वटा ठूला लाइन काटेको थियो । जसमा जगदम्बा स्टिल ४ अर्ब १४ करोड, घोराही सिमेन्ट १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी रहेको छ ।

आइतबार दिउसो २ उद्योगको लाईन काटेकोमा राति थप ३ गरी दुई चरणमा गरेर ५ वटा ठूला उद्योगको लाइन प्राधिरणले काटेको हो । सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो ।

लक्ष्मी स्टिलले ७४ करोड १० लाख, सर्वोत्तम सिमेन्टले ६८ करोड ९० लाख, अशोक स्टिलले ७४ करोड ५० लाख, सोनापुर मिनरल्स एण्ड आयलले ६१ करोड २० लाख र त्रिवेणी स्पिनिङ मिल्सले ८६ करोड ९० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।

९ वटा उद्योगको ११ अर्बभन्दा धेरै बक्यौता तिर्नुपर्ने रहेको छ । भने ६१ वटा उद्योगको समयमा नै विद्युतको शुल्क नतिरिरहेको लाग्ने जरिवना सहित २५ अर्ब बक्यौता तिर्न बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेन्द्रबहादुर भटट्राईले गत शुक्रबारदेखि ट्रंक र डेडिकेटेड लाइन प्रयोग बक्यौता नतिरहेको उद्योगको लाइन काटन थालिएको बताए ।

उनले भने, ‘गत शुक्रबार ४ वटा र हिजो ५ वटा गरी ९ वटा उद्योगको लाइन काटीएको छ । अहिलेसम्म लाइन काटेका र काट्न बाँकी रहेका उद्योगहरुले बक्यौता तिर्न आएका छैनन् । बक्यौता तिर्न बाँकी रहेका उद्योगको लाइन क्रमश काटिने छ ।’

उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले भने आज एक विज्ञप्ति निकालेर सरकार र निजी क्षेत्र बक्यौताको विषयमा पूर्ण जानकार रहेको र समस्या समाधानका लागि तत्पर रहेको जनाएको छ । महासंघले यस विषयलाई टुंगोमा पुर्याउन एक उच्चस्तरीय अधिकार सम्पन्न आयोग स्थापना गर्न माग गरेको छ ।