शनिबारसम्म मध्य तथा पश्चिमी भूभागमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं : आज (बिहीबार) देखि शनिबारसम्म मध्य तथा पश्चिमी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार साँझबाट नेपाल प्रवेश गरेको पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशभर रहेको महाशाखाले जनाएको छ ।

यता महाशाखाले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशभर रहेको कारण शनिबारसम्म मौसम बदलि रहने हुँदा सतकर्ता अपनाउन आग्रह गरेको छ । देशभर वर्षा र हिमपात हुने हुँदा चिसो बढ्ने हुँदा चिसोबाट बच्न समेत सर्वसाधारण जनतालाई महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम
माघ २ गते (बिहीबार)
दिउँसो :
 देशको मध्य तथा पश्चिमी भूभाग लगायत पूर्वी पहाडी भू्भागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । मध्य तथा पश्चिमी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति : देशको मध्य तथा पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

माघ ३ गते (शुक्रबार)
दिउँसो :
 देशको मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ साथै पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहिको छ ।

माघ ४ गते (शनिबार)
दिउँसो :
 देशको पश्चिमी भू्भागमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति : देशभर आंशिक बदली भई देशका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।