काठमाडौं । भारतले शान्तिका अग्रदत गौतम बुद्धको अस्तिधातु राखिएको प्राचीन रामग्राम स्तूप नक्कली बनाएर प्रचार गर्न थालेपछि पश्चिम नवलपरासीका सरोकारवालाहरुले आपत्ति जनाएका छन् । रामग्राम विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको छ । प्राचीन रामग्राम र देवदहका विषयमा तत्काल आवश्यक कदम चाल्न नागरिक समाज नवलपरासीले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै नागरिक समाजले भारत सरकारसँग पहल गरी गलत प्रचार रोक्न माग गरेको हो । भारतका अधिकारीहरु र भारतीय सञ्चार माध्यमहरुले केही दिनदेखि देवदह र रामग्रामको विषयमा भ्रमपूर्ण प्रचार गरिरहेकोले तत्काल खण्डन गर्न जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले जानकारी दिए ।
‘रामग्राम स्तूप पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनी गाउँमा अवस्थित छ । भारतले उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा रामग्राम रहेको दाबी गरेर दूष्प्रचार गरेकोप्रति हाम्रो घोर आपत्ति छ’ अध्यक्षसैथवारले भने, ‘सरकारको प्राथमिकतामा नपर्दा रामग्राम स्तूप ओझेलमा पर्दै आएको अवस्थामा भारतले आफ्नो भूमिमा रहेको दाबी गर्नु चिन्ताको विषय हो ।’
रामग्राम स्तूपमा बुद्धको अस्तिधातु अविच्छिन्न रुपमा राखिएको छ । बुद्धको महापरिनिर्वाण पछि राखिएको अस्तिधातु अहिलेसम्म कसैले चलाउन सकेको छैन । जिल्लाको सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडकको तीन किलोमिटर टाढा उजैनी गाउँबाट पूर्वतर्फ झरही खोलाको किनारमा समतल मैदानमा रामग्राम स्तूप छ । समाजले जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवलाई समेत यस विषयमा ध्यानाकर्षण गराउँदै दूष्प्रचार रोक्न माग गरेको छ ।
जिल्ला समन्वय समिति प्रमुख यादवले लुम्बिनी विकास कोषका पदाधिकारी तथा भारत सरकारको उत्तर प्रदेश महाराजगन्जका अधिकारीहरुसँग आवश्यक समन्वय गर्ने बताए । रामग्रामका विषयमा चिनियाँ यात्री फाइयान र हुयेन साङले आफ्नो यात्रा वृतान्तमा प्रशस्त वर्णन गरेको जानकारहरु बताउँछन् । सन् १८९९मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डा. डब्लु होयेले रामग्राम स्तूप पत्ता लगाएका थिए । पछि सन् १९६४मा यो नै रामग्राम स्तूप हो भन्ने प्रमाणित भएको थियो ।
स्तूप रहेको ठाउँमा जमीनको सतहमा सन् १९९७ तथा १९९९ मा भौतिक सर्भेक्षण गरिएको थियो । यसबाट यस स्तूपको पूर्व र उत्तरमा चतुष्कोणीय विहारहरुको अवशेष भएको निक्र्यौल गरिएको थियो । पछि पुरातत्व विभागका शुक्रसागर श्रेष्ठले सन् १९९९ तथा २००४को बिचामा उत्खनन् पनि गरेका थिए । त्यसबाट स्तुप क्षेत्र मौर्यकाल अर्थात् ईशा पूर्व ३२२ देखि १८५को बिचमा तथा गुप्तकाल अर्थात् ईशाको ३२० देखि ईशाको ५५० को वरिपरि विकसित भएको निष्कर्ष निकालिएको थियो ।
विश्वभरका बौद्धहरु यहाँ एकमात्र अस्थिधातु मौलिक रुपमा अस्तिधातु भएको पवित्र स्तूप भनेर पूजा आराधना गर्न आउने गरेका छन् । विदेशी तीर्थयात्रीहरु तथा काठमाडौंबाट तीर्थयात्रीहरु यहाँ आएर सामूहिक रुपमा बुद्धपूजा तथा परित्राण पाठ गर्ने गर्दछन् । करिब १० फिट अग्लो तथा २३.५ मिटर ब्यास भएको घाँसले ढाकिएको स्तुप क्षेत्रलाई दुई जना सुरक्षाकर्मीलेसुरक्षा प्रदान गर्दै आएको छन् ।
बुद्धको महापरिनिर्वाण भएपछि उनको शवको दाह संस्कार पछि केही मोतीका दाना जस्ता अस्तिधातु बाँकी रहेका र दाह संस्कारमा उपस्थित सबै बौद्ध राज्यहरुको बीच ती अस्तिधातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने माग सहित युद्ध नै गर्न तम्सिएपछि उनीहरुले एक जना दोर्ण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेका इतिहासमा उल्लेख छ ।
त्यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीयग्राम, वट्ठदिप, पावा र कुशिनगरका राजाहरुले लगेका थिए । उनीहरुले बुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्तिधातु लगेर विशाल स्तुप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । त्यसमध्ये कोलियग्रामका राजाले त्यस अस्थिधातुलाई राखेर बनाएको स्तूप नै रामग्राम स्तूप हो ।
पछि इशापूर्व २६८ देखि २३२सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तूपबाट अस्तिधातु निकाली त्यसबाट ८४ हजार स्तूप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाएको बौद्ध इतिहासका जानकारहरु बताउँछन् ।
इशाको पाँचौं शताब्दीमा फाहियान र सातौं शताब्दीमा हुयेनसाङ जस्ता यात्रीहरुले रामग्रामको भ्रमण गरेको ऐतिहासिक दृष्टान्त पाइन्छन् ।
साभार : अनलाइनखबर