दुर्गा प्रसाईंलाई  विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि तीन दिन म्याद थप

दुर्गा प्रसाईंलाई  विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि तीन दिन म्याद थप

वीरगञ्ज। मेडिकल व्यवसायी एवं 'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियान' का संयोजक दुर्गाप्रसाद प्रसाईंलाई पर्सा जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। पर्सा प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि म्याद थप गराएको हो।

पर्सा प्रहरीले सोमबार राति वीरगञ्जको सिद्धार्थ दियालो होटलबाट प्रसाईंलाई 'जरुरी पक्राउ पुर्जी' थमाएर नियन्त्रणमा लिएको थियो। विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा अभिव्यक्ति दिने क्रममा सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध काम गरेको, कसैप्रति घृणा वा द्वेष फैलाएको तथा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने गतिविधि गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार प्रसाईंले नेपाल सरकारको कामकारबाहीका सम्बन्धमा निराधार एवं अप्रमाणित कुराहरू उचाल्दै सरकारप्रति घृणा, द्वेष र अवहेलना जगाउने उद्देश्यले अमर्यादित तथा अस्वस्थ आलोचनात्मक अभिव्यक्तिहरू दिएका थिए। सोही कसुरमा अदालतबाट तीन दिनको म्याद अनुमति लिई उनीमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?