काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनको तयारीमा गम्भीरतापूर्वक लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा निर्वाचनको तुलनामा अब आउने निर्वाचनहरूमा अझ गम्भीर भएर जुट्नुपर्ने बताएका हुन्।
अध्यक्ष ओलीले स्थानीय तह र प्रदेश सभाको निर्वाचन राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत प्रत्यक्ष जोडिएको उल्लेख गरे। स्थानीय तहको निर्वाचन केवल स्थानीय सरकार गठनमा मात्र सीमित नरहेको स्पष्ट पार्दै उनले यसले राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता तयार गर्ने बताए। स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तहको परिणाम राष्ट्रिय सभा गठनका दृष्टिले समेत अत्यन्तै महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
बैठकमा बोल्दै उनले भने, “अब निर्वाचनहरू आउँदै छन् । तुरुन्तै हाम्रा अगाडि स्थानीय तहको निर्वाचन आउँछ । यो केवल स्थानीय सरकार बनाउने वा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सदस्यहरू चयन गर्ने कुरासँग मात्र सम्बन्धित छैन । स्थानीय तहका प्रमुख र उपप्रमुखले नै भोलि राष्ट्रिय सभामा मतदान गर्ने भएकाले यो निर्वाचन राष्ट्रिय सभाका मतदाता तयार गर्ने निर्वाचन पनि हो।”
त्यस्तै, प्रदेश सभा निर्वाचनले प्रदेश सरकार गठन, स्रोतसाधन परिचालन र विकास निर्माणका साथै राष्ट्रिय सभा निर्वाचनका लागि थप मतभार भएका मतदाता चयन गर्ने ओलीले बताए । प्रदेश सभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदातासमेत हुने भएकाले आगामी सबै निर्वाचनहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको उनले प्रस्ट पारे।
“देश विकासका काम गर्न, भ्रष्टाचार रोक्न, जनतालाई सेवा पुर्याउन तथा स्थानीय तहबाट शिक्षा, स्वास्थ्य र विकासका काम अगाडि बढाउन यो स्थानीय तहको निर्वाचनको असाधारण महत्त्व छ,” उनले थपे, “यसको एक वर्षपछि प्रदेश सभाको निर्वाचन हुन्छ ।”
आगामी दिनमा स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आउने उल्लेख गर्दै अध्यक्ष ओलीले यी सबै निर्वाचनलाई रणनीतिक महत्त्वका साथ लिनुपर्नेमा जोड दिए। उनले स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सङ्गठन निर्माणमा जुट्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए। विगतमा कार्यकर्ताहरूबीच एकता नहुँदा एमालेले निर्वाचनमा धक्का व्यहोर्नुपरेको उनको निष्कर्ष थियो।
“राष्ट्रपति निर्वाचनका मतदाता प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्य हुन् । स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपतिका निर्वाचनहरू हाम्रा अगाडि आउँदै छन्,” उनले भने । सोही क्रममा अध्यक्ष ओलीले गत फागुनमा सम्पन्न निर्वाचन भदौ २३ र २४ गते भएका अराजक गतिविधिलाई वैधानिकता दिन राज्यशक्तिको दुरुपयोग गरेर गराइएको आरोपसमेत लगाए।