विश्वासको मत नपाउने देखेपछि मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

विश्वासको मत नपाउने देखेपछि मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् । बहुमत विश्वासको मत नपाउने भएपछि उनले बाध्य भएर सदनमै राजीनामा घोषणा गरेका हुन् ।

पद भन्दा ठूलो जनताको सेवा र विश्वास रहेकाले पदबाट राजीनामा घोषणा गरेको बताए । उनले विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक आह्वान गरिएको थियो ।

सत्ता साझेदार दल नेकपा एमाले असोज ३० गते चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट समर्थन फिर्ता लिएपछि ३० दिन भित्रै सदनमा विश्वासको मत परीक्षण गर्नु पर्ने बाध्यता थियो ।

सत्ता साझेदार एमाले पश्चात गत कात्तिक २० गते नेकपाकाले पनि सरकारको साथ छाडेको थियो । त्यसयता मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा थियो । यद्यपि उनले कानुनी सुविधा भएका कारण तत्काल राजीनामा भने दिएनन् । एक महिना पश्चात उनले विश्वासको मत नपाउने देखेपछि राजीनामा दिएका हुन् ।

हाल कायम १०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न उनलाई कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो ।

प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, नेकपा (एमाले)का २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

गत कात्तिक २० गते जसपा, एमाले र नेकपाको समिकरण बनेको दाबी एमालेले गरेको थियो । जसपा नेपालको नेतृत्वमा सरकार बनाउने तयारी स्वरुप त्यसै दिन नेकपा पनि सरकारबाट बाहिरियो ।

तर, जसपा भित्र पनि मुख्यमन्त्री बन्ने विषयमा कलह रहेका कारण सत्ता समीकरण बन्न सकेको छैन । एमाले र नेकपा भने जसपा नेपालकै नेतृत्वमा सरकार बनाउन लचक छन् ।

जनमत पार्टी भने अब बन्ने सरकारमा सहभागी नहुने जनमत अध्यक्ष डा. सिके राउतले घोषणा नै गरिसेका छन् । त्यसैले मधेशमा अन्योलता छ । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि संविधानको धारा १६८ को २ बमोजिम दाबी पेश गर्न आह्वान गर्ने छन् ।