मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने तयारी रहेको जानकारी दिए । विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद भइरहेको र मतदान हुनुअघिसम्म पनि छलफल जारी रहने मुख्यमन्त्री यादवको भनाइ छ ।

नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसैगरी, सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।

दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव सरकारको निरन्तरताका लागि आवश्यक बहुमत जुटाउने प्रयासमा छन्। १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् ।

त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेशसभा सदस्य छन् ।