काठमाडौं। नेकपा एमालेका सांसद ऐन महरले नयाँ संसद् भवनको आन्तरिक संरचना र व्यवस्थापनप्रति तीव्र असन्तुष्टि जनाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले वर्तमान सरकारले अघिल्ला सरकारहरूले ल्याएका अधिकांश कार्यक्रम, संरचना र असल अभ्यासहरूलाई भत्काउने काम गरिरहेको टिप्पणी गरे।
उनले सरकारको यस्तो कार्यशैलीका बिच नयाँ संसद् भवनलाई भने सञ्चालनमा ल्याउने निर्णय गरिनु र यही नयाँ भवनबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने विषय सुन्न पाउनु सकारात्मक भएको बताए।
बैठकलाई सम्बोधन गर्दै सांसद महरले वर्तमान प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विगतका अभ्यास र संरचना तोड्ने काम गरे पनि नयाँ संसद् भवन चलाउने र यसलाई कायम गर्ने निर्णय गरेकोमा खुसी व्यक्त गरे।
तर, राज्यको ठूलो लगानी र लामो समय लगाएर निर्माण गरिएको यो संसद् भवन दीर्घकालीन महत्त्वको भएकाले यसलाई सही ढङ्गले सञ्चालन र व्यवस्थापन गर्न उत्तिकै आवश्यक रहेको उनको भनाइ थियो।
सांसद महरले नयाँ प्रतिनिधिसभा हलको बनोट र सिटको बनोटमाथि गम्भीर प्रश्न उठाउँदै संसद्मा सांसदहरू फिल्म हेर्न नआएको स्मरण गराए। हलभित्रका सिटहरू फिल्म हलका जस्ता र अगाडि राखिएका टेबलहरू विद्यालयको कक्षाकोठाका जस्ता बनाइएको आरोप लगाउँदै उहाँले यसको डिजाइनमाथि असन्तुष्टि पोखे।
नयाँ भवनको सभाहल हुनुपर्ने जस्तो नभएर बढी मात्रामा फिल्म हलजस्तो देखिएको टिप्पणी गर्दै उनले संसद्को गरिमा र आवश्यकता अनुसार यसको आन्तरिक संरचना र व्यवस्थापनलाई सुधार्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।