ललितपुर महानगरमा ई–चलान प्रणाली सुरु, जथाभावी पार्किङ गर्नेलाई डिजिटल जरिवाना

ललितपुर महानगरमा ई–चलान प्रणाली सुरु, जथाभावी पार्किङ गर्नेलाई डिजिटल जरिवाना

काठमाडौं। ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ गर्नेलाई गरिने कारबाहीसहित नगर प्रहरीका अन्य प्रशासनिक कामलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन ‘ई-चलान’ (डिजिटल जरिवाना) प्रणाली लागू गरिएको बताएका छन्।

सोमबार ललितपुर महानगरपालिकाद्वारा आयोजित ई–चलान शुभारम्भ कार्यक्रममा बोल्दै उनले यो प्रविधि आजकै मितिदेखि पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी दिए। महानगरले आफ्नो कार्यसम्पादनलाई चुस्त बनाउन विभिन्न क्षेत्रमा प्रविधिमैत्री सेवाहरू विस्तार गर्दै आएको उनले स्पष्ट पारे।

ललितपुर महानगरले स्मार्ट स्ट्रिट लाइट र इन्टेलिजेन्ट ट्राफिक लाइट जस्ता नवीनतम प्रविधि नेपालमै पहिलोपटक सफलतापूर्वक प्रयोग गरिसकेको उल्लेख गर्दै मेयर महर्जनले यसैको निरन्तरता स्वरूप अब ई-चलान प्रणाली भित्र्याइएको बताए।

सेवाग्राहीलाई जरिवाना बुझाउन सहज होस् भन्ने उद्देश्यले नगर प्रहरी प्रमुखको सक्रियतामा ‘ट्रि लिफ टेक्नोलोजी’ का दीपक मल्लसँग सहकार्य गरी यो प्रविधि तयार पारिएको र हस्तान्तरण समेत भइसकेको उनले जानकारी दिए। यो प्रणालीले आगामी दिनमा कत्तिको प्रभावकारी रूपमा काम गर्छ भन्ने कुराको भने विस्तृत मूल्याङ्कन हुन बाँकी रहेको उनको भनाइ थियो।

यसअघि कुनै पनि ट्राफिक वा पार्किङ नियम उल्लङ्घन गर्दा जरिवाना तिर्नका लागि सम्बन्धित कार्यालयमै भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता थियो। यस व्यवस्थाले सेवाग्राहीलाई निकै असहजता र सास्ती भइरहेको महसुस गरी त्यसको स्थायी र आधुनिक समाधानका लागि महानगरले ई–चलान प्रणाली कार्यान्वयनमा ल्याएको मेयर महर्जनले स्पष्ट पारे।

छुटाउनुभयो कि ?