वासिङ्टन/तेहरान:मध्यपूर्वमा जारी युद्ध र भूराजनीतिक तनावलाई कम गर्ने उद्देश्यका साथ संयुक्त राज्य अमेरिका र इरानबीच एक ऐतिहासिक शान्ति सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार (आज) नै इरानसँग शान्ति सम्झौतामा हस्ताक्षर हुने र त्यसलगत्तै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको 'होर्मुज जलडमरूमध्य' सबैका लागि खुला हुने दाबी गर्नुभएको छ।
सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले सम्झौताको तालिका आइतबारका लागि तय भएको र हस्ताक्षर सम्पन्न हुनासाथ वैश्विक ऊर्जा आपूर्तिका लागि मुख्य मार्ग मानिने होर्मुज स्ट्रेट पुनः खुला हुने उल्लेख गरेका हुन्।
राष्ट्रपति ट्रम्पले इरानले अब आणविक हतियार नचाहेको दाबी गर्दै उपयुक्त समयमा इरानको उच्च संवर्धित युरेनियम हटाउन वा निष्प्रभावी बनाउन संयुक्त राज्य अमेरिकाले इरानसँग मिलेर काम गर्ने संकेत समेत गरेका छन्।
सम्झौतामा हुने हस्ताक्षरले इरानसँगको अमेरिकी सम्बन्धलाई अघिल्ला प्रशासनहरूको तुलनामा 'बदलिएको र धेरै राम्रो' दिशामा लैजाने ट्रम्पको भनाइ छ। यद्यपि, आफूहरूसँग अन्तिम विकल्प (सैन्य तथा आर्थिक दबाब) अझै कायमै रहेको स्मरण गराउँदै उनले यो शान्ति प्रक्रिया छिटो, सहज र व्यवस्थित रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
यस वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेलिरहेको देश पाकिस्तानले पनि यो सम्झौताका लागि ठुलो आशा व्यक्त गरेको छ। पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफ र विदेशमन्त्री मोहम्मद इशाक दारले अमेरिका र इरान ऐतिहासिक शान्ति सम्झौताको ढाँचा मा सहमत भएको पुष्टि गर्दै आगामी २४ घण्टाभित्रै इलेक्ट्रोनिक (डिजिटल) माध्यमबाट यसमा हस्ताक्षर हुने तयारी भइरहेको बताएका छन्।
दुवै देशहरू शान्ति सम्झौताको यति नजिक पुगेको इतिहासमै यो पहिलो पटक भएको दाबी पाकिस्तानी नेतृत्वको छ। तर, अर्कोतर्फ इरानी विदेश मन्त्रालयले भने समय तालिकालाई लिएर फरक प्रतिक्रिया दिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बखाईले आइतबार नै अन्तिम सम्झौता वा समझदारी पत्र मा हस्ताक्षर भइहाल्ने कुरालाई अस्वीकार गरेका छन्।
प्रवक्ता बखाईले वासिङ्टनको अस्थिर नीतिका कारण इरान 'सतर्क' रहनुपर्ने उल्लेख गर्दै वार्ता सकारात्मक दिशामा अघि बढे पनि आइतबार नै हस्ताक्षर नहुने स्पष्ट पार्नुभयो। उनका अनुसार सम्भावित इस्लामाबाद एमओयू केवल वार्ता जारी राख्नका लागि एउटा मार्गचित्र मात्र हुनेछ र यसले लेबनानसहित सबै मोर्चामा युद्धको अन्त्य गर्ने विषयलाई समेट्नेछ, तर यसैलाई अन्तिम सम्झौता मान्न सकिँदैन।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि सबै विषयमा पूर्ण सहमति नभएसम्म निष्कर्षमा पुग्न नसकिने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। इरानभित्रैका कट्टरपन्थी समूहहरूले भने यो सम्झौताले होर्मुज स्ट्रेटमा इरानको सार्वभौम अधिकार कमजोर बनाउने भन्दै विरोध प्रदर्शन समेत सुरु गरिसकेका छन्।
सम्झौताको सर्त र समयलाई लिएर दुवै पक्षबाट केही विरोधाभासपूर्ण अभिव्यक्तिहरू आए पनि महिनौँ लामो युद्धपछि मध्यपूर्वमा शान्ति स्थापनाका लागि यो प्रयासलाई निकै चासोका साथ हेरिएको छ।