एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा एमालेको प्रथम बागमती अधिवेशनको बन्दसत्र सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र तोकिएको समयभन्दा ढिला गरी सुरु भएको हो ।

प्रतिनिधि विवादका कारण ढिला भएको बन्दसत्रमा सहमतिबाटै नेतृत्व चयनको प्रयास गरिएको छ । एमाले केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, एमालेका पूर्व पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, चितवनका एमाले नेता कृष्णभक्त पोखरेल तथा एमालेका वर्तमान प्रदेश अध्यक्ष केशवप्रसाद पाण्डेले नेतृत्वका लागि दाबी गरिरहेका छन् ।

उपाध्यक्षको लागि एमाले मकवानपुरका नेता अनन्तप्रसाद पौडेल, चितवनका दावा लामा,दोलखाका ईश्वर चन्द्र पोखरेल,काभ्रेका कुमार खकुरेल लगायतको चर्चा छ । अधिवेशन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर उम्मेदवारी दर्ता गरे खारेज हुने चेतावनी दिएपछि अहिले प्रत्याशी नेताहरू एकल उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ ।