ककनीका स्थानीयबासिन्दा फेरि आन्दोलनमा, काठमाडौँको फोहरका गाडी बाटोमै रोकिए

ककनीका स्थानीयबासिन्दा फेरि आन्दोलनमा, काठमाडौँको फोहरका गाडी बाटोमै रोकिए

काठमाडौँ । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका बासिन्दा फेरि आन्दोलित भएका छन् । उनीहरुले काठमाडौँको फोहर लिएर गएका गाडीलाई बिहानैदेखि बीच बाटोमै रोकेका छन् ।

ककनी गाउँपालिका वडा २ र ३ सशस्त्र प्रहरीको बेसक्याम्प नजिक स्थानीयबासिन्दाले फोहरका गाडीलाई रोकेका गाउँपालिकाका सूचना अधिकारी सुनिल आचार्यले जानकारी दिए । नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ ।

बञ्चरेडाँडा नुवाकोट र धादिङको सीमानामा तथा सिसडोल नुवाकोटमा पर्छ । काठमाडौँ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै आजदेखि फोहर फाल्न रोकेका हुन् ।