रारा रिसोर्टमा एक्सपर्ट ग्रुपको लगानी

रारा रिसोर्टमा एक्सपर्ट  ग्रुपको लगानी

काठमाडौँ । मुगुको रारा ताल आसपासमा विलासी रिसोर्ट खोल्न विदेशबाट लगानी भित्रिने भएको छ । तेस्रो लगानी सम्मेलनको क्रममा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग रिसोर्टमा लगानीका लागि सम्झौता भएको छ । 

एक्सपर्ट  ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा र रारा होल्डिङ्स रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले लगानी सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ मुर्माटोपमा ८० रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा करिब ४० करोड रुपैयाँ लगानी हुने शाहले बताए ।

उनका अनुसार डेढ वर्षभित्र रिसोर्ट निर्माण गर्ने लक्ष्य राखिएको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन पनि तयार भइसकेको छ । स्थानीय स्रोत साधन प्रयोग गरी स्थानीय संस्कृति झल्कने रिसोर्ट निर्माण गरिने उनले बताए ।