कांग्रेस चितवनको जिल्ला सम्मेलन सम्पन्न

कांग्रेस चितवनको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेस चितवनको पहिलो सम्मेलन सम्पन्न भएको छ । आईतबार एक कार्यक्रमका बीच सम्मेलन सम्पन्न भएको हो । सम्मेलन कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको उपस्थितिमा सम्मपन्न भएको थियो । कार्यक्रममा नेता कोईरालाले प्रधानमन्त्री प्रचण्डको काम अपेक्षाकृत नभएको आरोप लगाउँदै सरकारमा कांग्रेस नेतृत्व आवश्यक रहेको औलयएका थिए । नेता कोइरालाले चितवनका जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले कांग्रेसभित्र उत्साह सहित एकताका साथ अघि बढ्नुपर्ने बताए । बानियाँले गठवन्धनलाई इङ्गित गर्दै भने ’ऐलेको कांग्रेस विचलित जस्तो देखिएको छ । अब कांग्रेसमा उत्साह र एकता जगाउनुपर्ने आवश्यकता छ ।’कांग्रेसले १४औँ महाधिवेशनदेखि नै रुपान्तरित भएर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेको कुरालाई कटाक्ष गर्दै बानियाँले भने – ’भित्तामा रुपान्तरणको नारा त टाँस्यो तर मनमा टाँस्न सकेन । त्यसैले कांग्रेस विचलित देखिएको छ ।’ इतिहासले मात्रै काङ्ग्रेस नरहने बताउँदै बानियाँले भने ’काङ्ग्रेस कसरी अगाडि बढ्ने नेतृत्वले बाटो देखाउनु¥यो ।’ उनले कांग्रेसले अब मुलुकको संविधान र पार्टीको विधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरे । अहिले कांग्रेस भित्र छाडातन्त्र मौलाएको भन्दै बानियाँले भने ’ नेताले नीति निर्माण गर्ने हो,  न्यायमुखी काम गर्ने हो । नेतामुखी टिकट बाँड्ने होइन ।’ 
बानियाँले पटकपटक व्यवस्था बदलेर पनि कांग्रेस जनतामुखी हुन नसकेको आरोप लगाए । व्यवस्था त बदलियो तर जनताको जीवनस्तर उही रहेको बताए । कांग्रेस भित्रै भ्रष्टाचार मौलाएको कुरालाई इङ्गित गर्दै बानियाँले भने ’कांग्रेसको मिसन चुनाव होइन, भ्रष्टाचार शून्य सुशासन हो ।’

त्यस्तै सम्मेलनमा सभापतिको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जिल्ला सभापति राजेश्वर खनालले अहिले भैरहेको गठवन्धनको विकल्प खोज्न आवश्यक रहेको बताए । खनालले  गठवन्धनले चितवन कांग्रेस बलियो भयो कि कमजोर भयो ? अहिलेको गठवन्धन भित्र कांग्रेसले आफ्नो स्वाभिमान कायम गर्न सकेको छ कि छैन ? भन्दै यक्ष प्रश्न राखेका थिए । कार्यक्रममा बोल्दै खनालले भने– ’कुनै सार्वजनिक कार्यक्रमबाट फर्कँदै गरेका पार्टीका सह–महामन्त्रीले खुकुरी खानुपर्ने यो कस्तो सुरक्षा संयन्त्र हो ? यस्तो अवस्थामा अहिले भैरहेको सरकारको समर्थन गर्न सकिँदैन।’ अहिलेको गठवन्धन सरकारले हस्पिटलको लाइनमा बस्दाबस्दै कान्ति बाल अस्पतालमा  ज्यान गुमाएकी पाँच वर्षीया बालिकालाई न्यायको पक्षमा सरकार किन मौन बस्यो ? भन्दै सभापति खनालले यसको जवाफ सरकारले दिनुपर्ने र भैरहेको गठवन्धनको विकल्प खोज्नुपर्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा सभापतिको नीति तथा कार्यक्रम सभापति राजेश्वर खनालले प्रस्तुत गरेका थिए भने सचिव ध्रुवराज पोखरेलले सचिवको सांगठनिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै कोषाध्यक्षको आर्थिक प्रतिवेदन पवित्रा केसीले पेश गरेकी थिइन्। कार्यक्रमको सहजीकरण सचिव ध्रुवराज पोखरेलले गरेका थिए । कार्यक्रममा सहभागिताको लागि प्रत्येक वडाबाट नेता तथा कार्यकर्ता आउनु भएको छ । वडा सम्मेलन देखि जिल्ला सम्मेलन सम्म गरेर काँग्रेसलाई चलाएमान गराएको यो नेतृत्व अरु पार्टिले गरेको प्रतिकृया मात्र नदिई आफै रचनात्मक कामहरु गर्दै बढेको छ । यो नेतृत्वको काम  हेर्दा अब आउने निर्वाचनमा २०५६ को नतिजा आउने देखिन्छ भन्दै खुशि ब्यक्त गरेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, अञ्जली श्रेष्ठ, पूर्वसभापति कृष्णलाल सापकोटा, विकास कोइराला निवर्तमान सभापति जीतनारायण श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।