टिकटकले अव भिडियो हेर्नेलाई पनि पैसा दिने !

टिकटकले अव भिडियो हेर्नेलाई पनि पैसा दिने !

युरोपियन युनियन (ईयू)ले प्रयोगकर्तालाई लत बसाउने जोखिम भएको भन्दै टिकटकको नयाँ फिचरबारे कम्पनीलाई प्रश्न सोधेको छ । टिकटकले यही महिना फ्रान्स र स्पेनमा वाच–एन्ड–गेट–रिवार्डेड भन्दै टिकटक लाइट एप सार्वजनिक गरेको थियो ।

उक्त एपमा भिडियो हेरेर, लाइक, कमेन्ट एवं अन्य प्रयोगकर्तालाई फलो गरेरै कम्पनीले रिवार्ड पोइन्ट उपलब्ध गराउने जनाएको छ । उक्त रिवार्ड पोइन्टलाई अमेजन भौचर, पेपलबाट गिफ्ट कार्ड एवं टिकटककै कोइनबाट पैसामा परिणत गर्न सकिने बताइएको छ ।

टिकटकको मुख्य कम्पनी बाइटडान्सले यो एप सार्वजनिक गर्नुअघि जोखिमको मूल्यांकन गर्नुपर्ने युरोपेली आयोगको भनाइ छ । यसले बालबालिका एवं अन्य प्रयोगकर्तालाई एप चलाउने लतमा पार्नसक्ने भन्दै ईयूले २४ घण्टाभित्र जोखिम मूल्यांकन रिपोर्ट उपलब्ध गराउन टिकटकलाई निर्देशन दिएको छ । 

टिकटकले यो रिवार्ड सुविधा १८ वर्षभन्दा माथिका प्रयोगकर्ताका लागि मात्रै भएको र उमेर प्रमाणीकरण गर्न आवश्यक हुने बताएको छ । यस्तै दैनिक एक युरोको मात्रै भुक्तानी हुनेगरी सीमा लगाइएको टिकटकले स्पष्ट पारेको छ ।