नेपाली सेनाद्धारा द्रुतमार्गमा काटिएका रुख रोप्न ३ करोडको ठेक्का आव्हान

नेपाली सेनाद्धारा द्रुतमार्गमा काटिएका रुख रोप्न ३ करोडको ठेक्का आव्हान

बारा : निर्माणाधीन काठमाडौं तराई र मधेश द्रुतमार्गमा काटिएका रुख रोप्न नेपाली सेनाले ठेक्का आव्हान गरेको छ।सोमबार सूचना जारी गर्दै सेनाले बाराका विभिन्न तीन स्थानमा रुख रोप्नका लागि ठेक्काको बोलपत्र माग गरेको हो।

द्रुतमार्ग निर्माणका क्रममा काटिएका रुखको सट्टामा उक्त स्थानमा रुख रोप्न लागिएको हो। वातावरण कानुन अनुसार नेपालमा सामान्य आयोजनामा एउटा रुख काट्दा २५ वटा रोप्नु पर्ने व्यवस्था छ। सेनाले विभिन्न तीन स्थानमा रुख रोप्न २ करोड ९७ लाख ८४ हजार ८ सय ५७ रुपैयाँ लागत अनुमान गरेको छ।त्यस्तै राष्ट्रिय गौरवका आयोजनामा भने एउटा रुख काट्दा १० वटा रोप्नुपर्ने व्यवस्था गरिएको छ।

बाराको निजगढ नगरपालिका १० मा १ करोड ३६ लाख २१ हजार ३ सय ८१ रुपैयाँ लागतमा रुख रोप्न बोलपत्र आव्हान गरिएको छ। त्यस्तै कोल्हवी नगरपालिका ८ नयाँ बस्तीमा ९१ लाख ७३ हजार ४ सय ३ रुपैयाँ र सोही नगरपालिकाको वडा नम्बर ५ मा ६९ लाख ९० हजार ७३ रुपैयाँ बराबरको रुख रोप्नका लागि नेपाली सेनाले ठेक्का आव्हान गरेको हो।

सेनाले द्रुतमार्ग सडक आयोजनाको वृक्षरोपण कार्यका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र कार्यविधि अनुसार योग्य नेपाली बोलपत्रदाताबाट विद्युतीय बोलपत्र आव्हान गरेको छ। बोलपत्र पेश गर्ने अवधि माघ २९ गते मध्यान्ह १२ बजेसम्मलाई तोकिएको छ। उक्त बोलपत्र सोही दिन दिउँसो ३ बजे द्रुतमार्ग सडक आयोजना भद्रकालीमा खोलिने सेनाले जनाएको छ। नेपाली सेनाले द्रुत निर्माणका क्रममा कति रुख काटिएको र उक्त लागतमा कतिवटा संख्यामा रुख रोप्ने भन्ने खुलाएको छैन।