प्रदेश २ सरकारद्धारा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन

प्रदेश २ सरकारद्धारा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन

जनकपुर : प्रदेश २ सरकारले मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगहरु बन्द गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई पत्राचार गरेर अवैध क्रसर उद्योगहरु बन्द गर्न निर्देशन दिन लागेको हो ।

‘गैरकानूनी रुपमा नदीजन्य पदार्थ उत्खनन रोक्न र नदीहरुको अवस्थाबारे जानकारी गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए । अवैध कारोबारलाई नियन्त्रण नियमन गर्ने पहिलो काम भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहबाट हुनेछ ।

हालको कानुनी व्यवस्थाअनुसार स्थानीय तहको सिफारिसको आधारमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नदीजन्य, खानीजन्य उद्योगहरु खोल्न स्वीकृति दिनेछ । त्यसको अनुगमन जिल्ला समन्वय समिति प्रमुख संयोजक रहेको समितिले गर्ने व्यवस्था रहेको छ ।

यद्यपि सुरक्षा लगायतका काममा सहयोग गरिदिन स्थानीय सरकारले जिल्ला प्रशासन कार्यालयमा आग्रह भने गर्न सक्नेछन् । नदी उत्खनन्को बिरोध गर्ने दिलिप कुमार महतोलाई क्रसर उद्योगीहरुले फलामको रडले घोचेर घाइते बनाई उनको शरीरमाथि टिपर चलाएको खुलेको छ ।

गत शुक्रबार धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका २४ वर्षीय दिलिप महतोको क्रसर व्यवसायीबाट क्रूर ढंगले हत्या भएपछि क्रसर उद्योग नियन्त्रणको बहस फेरि एक पटक उठेको छ । नदीजन्य पदार्थको अवैध उत्खननको विरोध गर्दै आएका दिलिपको दाहिने कोखामा चार जना मिलेर फलामको लिभरले घोचेर, खोलामा सुताएर, ना।७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएकोे थियो ।

हत्यामा संलग्न भएको भन्दै प्रहरीले स्थानीय क्रसर व्यवसायी २७ वर्षीय विपिन महतो, महोत्तरीको बर्दिवास नगरपालिका ९ बस्ने टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतो, बर्दिवासकै वडा नम्बर २ निवासी लोडर चालक २४ वर्षीय जितेन्द्र कुमार महतो र धनुषाको मिथिला नगरपालिका ५ बस्ने २७ वर्षीय रोशन यादवलाई पक्राउ गरी कारबाही अनुसन्धान जारी राखेको छ ।