ओमप्रकाश महतोको हत्या आरोपितलाई कर्तव्य ज्यान मुद्दाको तयारी

धनुषा : प्रहरीले धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो ९दिलीप० हत्याका आरोपितलाई कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका चारजनामाथि कर्तव्य ज्यान मुद्दामा आइतबार जिल्ला अदालत धनुषाले अनुसन्धानका लागि पाँच दिनको म्याद थपेको छ।

श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न ओमप्रकाश अभियान चलाएका थिए। यसै खोलाको डिलमा अवैधानिक रुपमा सञ्चालित चुरियामाई बालुवा प्रशोधन उद्योग (क्रसर) को समेत उनले विरोध गरेका थिए। शुक्रबार बिहान औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न पुगेका ओमप्रकाशलाई क्रसर सञ्चालक विपिन महतोले नियन्त्रणमा लिएर ‘लिभर’ प्रहार गरी घाइते बनाई टिपरको चक्काले किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार विपिनसहित चारजनाले ओमप्रकाशलाई नियन्त्रणमा लिएर दाहिने कोखमा ‘लिभर’ले घोची घाइते बनाएपछि टिपरले किचेर हत्या गरेको आरोपितले प्रहरीसमक्ष स्वीकार गरेका छन्। ‘ओमप्रकाशले आफ्नो धन्दामा धक्का पु(याएकाले उनको हत्या गरेको बयान विपिनले दिएका छन्’, एसपी बस्नेतले बताए। ना७प ६४१३ नम्बर टिपर ओमप्रकाशमाथि चढाइएको थियो।

घटनाका मुख्य योजनाकार क्रसर सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपिन रहेको बस्नेतले बताए। हत्यामा सहयोगी भूमिकामा रहेका टिपर चालक महोतरी बर्दिबास–९ का ३७ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास नगरपालिका–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशनकुमार यादवमाथि कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको एसपी बस्नेतले बताए।