फोहोरबाट उर्जा उत्पादन गर्न यूएइले दियो नेपाललाई १ करोड

फोहोरबाट उर्जा उत्पादन गर्न यूएइले दियो नेपाललाई १ करोड

काठमाडौ : संयुक्त अरब इमिरेट्स (यूएइ) ले नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ।

यूएइको अबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभाको अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत उक्त रकम दिने घोषणा गरिएको हो।

नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले सहयोग स्वीकार गरे। साधारणसभाको विशेष समारोहमा मन्त्री पुनले उक्त सहुलियत कर्जा स्वीकार गर्दै नेपाललाई छनोट गरेकामा धन्यवादसमेत दिए। मन्त्री पुनकाअनुसार उक्त रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिनेछ।

आइरिनाको प्राविधिक सहयोगमा विभिन्न मुलुकबीच प्रतिस्पर्धा भएको थियो। सात चरणमा भएको प्रतिस्पर्धामा नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा सहुलियतका लागि छानिएका थिए । उक्त सहयोगबाट नेपालका ६९ नगरपालिकामा फोहोरबाट उर्जा परियोजना लागू गरी उर्जा र प्रांगारिक मल उत्पादन गर्नुका साथै रोजगारीको सिर्जना हुने विश्वास गरीएको छ ।