लागूऔषध सेवनबाट एकको मृत्यु

नवलपुर : पूर्वी नवलपरासीमा अत्यधिक लागूऔषध सेवनबाट एक जनाको मृत्यु भएको छ ।देवचुली नगरपालिका ३ का २६ वर्षीय सुमन घर्तीको अत्यधिक लागूऔषध सेवनका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

युवकको शव देवचुली १५ प्रगतिनगर लोकाहा पुलदेखि दक्षिणपट्टी भेटिएको थियो । घर्तीको शरीरमा लागूऔषध प्रयोगका लागि लगाइएको सुईका निशानहरु रहेको र केही मात्रामा लागू औषध पनि बरामद भएको बताइएको छ । पोष्टमार्टमका लागि शव प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाइने अस्थायी प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ । मृत्युको कारणको विस्तृत विवरण शवको पोष्टमार्टमपछि मात्रै आउने प्रहरीले जनाएको छ ।