अछाममा १५ दिनमै भत्काइयो १५ सय छाउगोठ

अछाममा १५ दिनमै भत्काइयो १५ सय छाउगोठ

अछाम : जिल्ला प्रहरी कार्यालय अछामले छाउगोठ भत्काउने काम तीव्र पारेको छ। मासिक धर्मका बेला एकान्त ठाउँमा हुने यस्ता छाउगोठमा राख्दा महिलाहरुले ज्यान नै गुमाउने गरेका छन्।

पछिल्लो पटक गृह मन्त्रालयले नै निर्देशन दिएपछि अछाम प्रहरीले १५ सय छाउगोठ भत्काइसकेको छ।प्रहरीले गएको १५ दिनमा करिब १ हजार ५ सय १८ गोठ भत्काएको प्रहरी निरिक्षक रमेश अवस्थीले जानकारी दिए। स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरी प्रहरीले गोठहरु भत्काईरहेको छ।

प्रहरीले अहिले जिल्लाभरका सबै छाउगोठको विवरण संकलन गरिसकेको छ। छाउगोठ भत्काईएपछी महिनावारी भएका महिलाहरु घरमा बस्न थालेका छन्‌। छाउगोठ भत्काउन जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक भारती आफैं खट्ने गरेका छन। डीएसपी भारती शनिबार जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाको बारला र लयाटी पुगी छाउगोठ भत्काएर फर्किएका छन्। दिनभर बारलामा छाउगोठ भत्काउन ब्यस्त रहेका भारती साँझ ७ बजेतिर लयाटीस्थित तप्सी टोलमा पुग्दा छाउगोठमा बसिरहेका महिलाहरुको भागाभाग भएको छ।

छाउगोठमा बसेर खाना खाईरहेका महिलाहरु प्रहरी देख्नासाथ पक्राउ पर्ने डरले भागेका हुन। अछाममा छाउगोठमै अहिलेसम्म १४ जना महिलाले ज्यान गुमाएका छन। अछामलाई फागुन महिनाभित्र छाउपडी गोठ मुक्त जिल्ला घोषणा गर्ने गरी अहिले छाउगोठ भत्काउने अभियान तीव्र पारिएको छ।