खोटाङका चार वडालाई कागतीको पकेट क्षेत्र बनाइँदै

खोटाङका चार वडालाई कागतीको पकेट क्षेत्र बनाइँदै

खोटाङ : खोटाङको खोटेहाङ गाउँपालिकाले चार वडालाई कागतीको पकेट क्षेत्रकारुपमा विकास गर्न पहल थालेको छ। कागती उत्पादन गरेर किसानलाई आर्थिकरुपमा सबल बनाउनका लागि गाउँपालिकाले खोटेहाङ गाउँपालिका–८ सिमपानी, ९ लिच्कीराम्चे, ४ बड्कादियाले र ७ खोटाङ बजारलाई पकेट क्षेत्रकारुपमा विकास गर्न कार्यक्रम सुरु गरेको हो।

सिमपानी र लिच्कीराम्चेका २५र२५ जना किसान आवद्ध दुई वटा कृषक समूहलाई समेटेर एउटा पकेट क्षेत्र तथा खोटाङ बजार र बड्कादियालेका दुई वटा कृषक समूहलाई समेटेर कागतीको अर्को पकेट क्षेत्र बनाउने गरी काम थालिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए।

कागतीको व्यवसायीक खेतीका लागि आर्थिक वर्ष २०७५र०७६ मा कागतीका दुई वटा पकेट क्षेत्रलाई प्रति पकेट क्षेत्र १ लाख ९० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। अनुदान पाएका पकेट क्षेत्रका किसानले हाल कागतीको बेर्ना उत्पादनका काम गरिरहेको अध्यक्ष राईले बताए। गाउँपालिकाको ९ वडामध्ये कागती उत्पादन हुने स्थान र सम्भावनालाई ध्यानमा राखेर पकेट क्षेत्रकारुपमा विकास गर्न लागिएको हो।

यस्तै, खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीलाई पनि कागतीको पकेट क्षेत्रकारुपमा विकास गर्न चालु आर्थिक वर्ष ३ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। खोटेहाङ गाउँपालिका २ वाप्लुखालाई पनि आलुको पकेट क्षेत्रकारुपमा विकास गर्न यस आर्थिक वर्ष २ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको उनले बताए।