उदयपुरमा कैदी छुटाइदिने भन्दै रकम ठगी गर्ने कांग्रेसका नेतासहित दुईजना पक्राउ

उदयपुरमा कैदी छुटाइदिने भन्दै रकम ठगी गर्ने कांग्रेसका नेतासहित दुईजना पक्राउ

उदयपुर : उदयपुर प्रहरी हिरासतमा रहेका अंन्चु शेर्पालाई छुटाइदिने भन्दै पैसा असुली ठग्ने दुईजना पक्राउ परेका छन। केन्द्रीय बाल संजाल उदयपुरका निर्वतमान अध्यक्ष सुरेश गुप्ता र सचिव रुपेश दनुवार रहेका प्रहरीले जनाएको छ।

उदयपुरका जिल्ला नेतासमेत रहेका ३५ वर्षीय गुप्ता त्रियुगा नगरपालिका १२ पुरानो गाईघाट निवासी हुन् भने २४ वर्षीय दनुवार त्रियुगा नगरपालिका ८ राजाबास निवासी हुन् । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्ध कसूर मुद्दामा मंसिर १९ गते पक्राउ परेर प्रहरी हिरासतमा रहेका अंन्चु शेर्पालाई छुटाइदिने भन्दै शेर्पाका अभिभावकलाई ललाई फकाई विश्वास दिलाई झुक्यानमा पारी पैसा ठगी गरेको आरोपमा गुप्ता र दनुवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

उनीहरुले एक लाख लाग्ने भन्दै शेर्पाका अभिभावकलाई प्रलोभनमा पारी १० हजार रुपैयाँ अग्रिम बुझेका थिए। तर रकम लिए पनि शेर्पा प्रहरी हिरासतमा रहेको र जिल्ला प्रशासन कार्यालय उदयपुरमा मुद्दा चालु अवस्थामै रहनेगरी करिव ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि गुप्ता र दनुवारको कर्तुत बाहिर आएको हो। उनीहरुलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।