नदी उत्खननको विरोध गर्ने दिलिपको हत्या आरोपमा क्रसर मालिक पक्राउ

नदी उत्खननको विरोध गर्ने दिलिपको हत्या आरोपमा क्रसर मालिक पक्राउ

धनुषा : नदी उत्खननको विरोध गर्ने दिलिप कुमार महतोको हत्या गरेको आरोपमा क्रसर संचालक विपिन कुमार महतो पक्राउ परेका छन्। विपिनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानूचौक नजिकबाट शनिवार विहान करिब १० बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन्।

प्रहरीले शुक्रबार अनुसन्धानका लागि दिलिपका साथी रोशन यादव, टिपर चालक मुनिन्द्र महतोलाई पक्रिएको थियो। शुक्रबार बिहान करिब ४ बजेको समयमा नदीमा भईरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलिप भन्ने ओमप्रकाश महतोको टिपरले किचेर हत्या गरिएको थियो।
हत्या पछि परिवारजनले क्रसर सञ्चालक विपिन महतो सहित स्थानिय प्रशासन, वडाध्यक्ष लगायतको संलग्नतामा हत्या गरेको आरोप लगाइरहेका छन्।

यता शुक्रबार बिहानै दिलिपको हत्या गरिएतापनि मुचुल्का नउठाइ शवलाई प्रादेशिक अस्पाल पठाएको थियो। शवको अहिले सम्म पोस्टमार्टम भएको छैन। परिवारजनले प्रहरीमा जाहेरी नदिएको कारण शवको पोस्टमार्टम नगरिएको प्रहरी निरीक्षक यादवले बताए।