गोरखामा अज्ञात समूहले लगाए एनसेल टावरमा आगो

गोरखा : गोरखाको सहिद लखन गाउँपालिका १ बक्राङ भोक्टेनिमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । शुक्रबार राति करिब ११:३० बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

राति टावरको कनेक्सनमा समस्या देखिएपछि एनसेलका कर्मचारी र प्रहरी टोली त्यस क्षेत्रमा पुग्दा आगलागी भएको एसपी ओमप्रसाद अधिकारीले बताए । आगलागीबाट टावरको तारमा क्षति पुगेको उनले बताए । जुटको बोरा र पराल प्रयोग गरेर आगो लगाइएको एसपी अधिकारिको भनाइ छ । टावरमा आगजनी भएसँगै सो क्षेत्रमा सेवा प्रभावित बनेको छ । आगजनी गर्नेको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।