कञ्चनपुरमा वन कार्यालयद्वारा फर्निचर उद्योग शिल

कञ्चनपुरमा वन कार्यालयद्वारा फर्निचर उद्योग शिल

कञ्चनपुर : डिभिजन वन कार्यालय कञ्चनपुरले लालझाडी गाउँपालिका ५ देखतभुलीस्थित शिखरधुरा फर्निचर उद्योगमा शिलबन्दी गरेको छ। बिहीबार साँझ सबडिभिजन वन कार्यालय वाणीका प्रमुख तथा सहायक वन अधिकृत सलिना कडालको नेतृत्वमा गएको वन कर्मचारीको टोलीले उद्योग शिल गरेका हुन्।

अनुमति नलिई मापदण्डविपरित काम गरेको देखिएकाले उद्योगमा शिलबन्दी गरिएको सहायक वन अधिकृत कडालले बताएकी छन्। उनका अनुसार चिरान गर्ने आदेश नभइ अनुमतिविना काठ चिरान गरेको तथा टाँचा नलगाएको र अवैध वन पैदावार राखेकाले उद्योगमा शिल गरिएको हो। उनका अनुसार मुद्दाको किनारा नलाग्दासम्म उद्योगमा शिलबन्दी कायम रहनेछ।

त्यसपछि घरेलु उद्योग कार्यालयमार्फत अनुमतिपत्र खारेजसम्मको कारवाही गरिनेछ। सहायक वन अधिकृत कडालले अन्य फर्निचर उद्योग र सामुदायिक वनमा अनुगमन गरिने र मापदण्ड विपरीत सञ्चालित उद्योग खारेज तथा अवैध रूपमा काठ बेच्ने वनका पदाधिकारीमाथि आवश्यक कारवाही गरिने समेत बताइन्।

शिलबन्दी गरिएको शिखरधुरा फर्निचर उद्योगका सञ्चालक जनकराज जोशी र समावेशी सामुदायिक वनका उपाध्यक्ष नरेन्द्र विष्ष्टलाई यसअघि नै वन कार्यालयले अवैध काठसहित पक्राउ परी सकेका छन्। उनीहरुलाई गत मंगलबारदेखि वनको थुनुवा कक्षमा राखिएको छ। उनीहरुमाथि वन ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले जानकारी दिए।