धनुषामा युवकको हत्या गरी फरार रहेका टिपर चालक पक्राउ

धनुषा : धनुषाको मिथिला नगरपालिकामा अवैध रुपमा नदी उत्खनन्को विरोध गर्ने युवकलाई टिपरले किचेर ‘हत्या’ गरि फरार रहेका टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक वर्दिवास घर भएका मुनिन्द्र महतोलाई पक्राउ गरेको हो ।

शुक्रबार बिहान टिपरको ठक्करबाट स्थानीय दिलिपकुमार महतोको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले भने, ‘चालकलाई नियन्त्रणमा लिएर हामीले विस्तृत अनुसन्धान थालेका छौं ।’

घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए । उनको खोजीमा परिचालित टोलीले ढल्केवर पश्चिमबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रामकुमार यादवले बताए । पीडित परिवारले पनि हत्या गरेर किचिएको दाबी गर्दै आएका छन् ।